प्रदेश नम्बर ७ को बजेटः मन्त्रीले चाहेको ठाउँमा बाँडियो

धनगढी, २१ असार । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट विवादबीच पास भएको छ । बजेटले प्राथिमकताको आधारमा भन्दापनि भनसुन र मन्त्रीले चाहेका ठाउँमा बजेट बाँडिएको भन्दै सत्तापक्षकै सांसदहरुले संसदमै विरोध गरेका थिए । सांसदहरुले प्रदेश सरकारले गौरवका योजना ल्याउन नसकेको भन्दै विरोध गरेका थिए ।

मन्त्री बोहोराले झ्यालबाट योजना ल्याएको, क्षेत्रगत सन्तुलन नमिलेको, मन्त्रीको क्षेत्रमा ५० करोड भन्दा बढी बजेट विनियोजन गरिएको तर सत्तापक्षकै सांसद सुशीला बुढाथोकीको क्षेत्रमा एउटा पनि योजना नपारेको भन्दै सत्तापक्षकै सांसदहरुले बजेटको विरोध गरेका थिए । मन्त्री बोहोराले कमिसनको ग्यारेण्टी भएका ठाउँहरुमा आवश्यक भन्दा बढी योजना र बजेट दिने तर आफूहरुले माग गरेका योजनामा बजेट नदिएको सत्तापक्षकै सांसदहरुको आरोप छ ।

मन्त्री बोहोराले आफ्नो निर्वाचन क्षेत्र त्यसमापनि आफ्नै गाउँमा करोडौं बजेट विनियोजन गरेको आरोप लाग्दै आएको छ । मन्त्री बोहोराले घरघरमा पानीका धारा र खेतबारीमा सिँचाई योजना भएका गाउँमा खानेपानी र सिँचाईको लागि भन्दै बजेट विनियोजन गरेका छन् ।
खानेपानी र सिँचाईमा काम गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडब्लू आरएमपी)ले गुरुयोजना बनाएर काम सम्पन्न गरिसकेका रामारोशन गाउँपालिकाका दर्ना, सान्ताडा र बाटुलासैनमा मन्त्री बोहोराले खानेपानी र सिँचाईको लागि भन्दै करोडौं रकम विनियोजन गरेका छन् ।

त्यस्तै रामारोशनकै नेटाकोटमा पनि खानेपानी र सिँचाई आरभीडब्लू आरएमपीले गुरुयोजना बनाएर काम गरिरहेको छ, त्यहाँ पनि खानेपानीको लागि भन्दै मन्त्रीले बोहोराले बजेट बिनियोजन गरेका छन् । स्थानीय जनप्रतिनिधिहरुले उक्त क्षेत्रमा खानेपानी भन्दा अन्य क्षेत्रमा बजेट माग गरेका थिए । तर, मन्त्री बोहोराले गाउँपालिकाले सिफारिस नगरेका योजनामा आफूखुशी बजेट विनियोजन गरेको भन्दै विरोध भइरहेको छ ।

आरभीडब्लू आरएमपीले गुरुयोजना बनाएर छनोट गरेको क्षेत्रमा खानेपानी, सिँचाई र सरसफाईको पूर्ण रुपमा काम नगरेसम्म फर्किदैन । उसले काम सम्पन्न गरेका ठाउँहरुमा बजेट विनियोजन गरेपछि चर्को विरोध भइरहेको छ ।

मन्त्री भएपछि बोहोराले गत आर्थिक वर्षको बाँकी तीन महिनाको लागि ल्याएको बजेट कार्यान्वयन भएको थिएन । उक्त बजेट कार्यान्वयन नभएसँगै मन्त्री बोहोरा असफल भएको सत्तारुढ दलकै नेताहरु बताउँछन् ।

मन्त्री बोहोराले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ५६ करोडको बजेट ल्याएका थिए ।

आर्थिक विज्ञ भन्दै पूर्व माओवादी केन्द्रका केही नेताहरुको सिफारिसमा मन्त्री बोहोरा मन्त्री भएका थिए । कार्यकर्ताको विरोधबीच उनलाई प्रदेशसभाको लागि अछाम क्षेत्र नम्बर १को उम्मेदवारी दिइएको थियो ।