कम्लहरी मुक्ति दिवस शोकमा परिणत
नेपालगन्ज, १३ असार । सरकारले कम्लहरी मुक्त घोषणा गरेको पाँचौं वर्ष मुक्ति दिवस नभएर शोक सभामा परिणत भएको छ । सरकारले कमलरी मुक्त घोषणा गरेको ५ वर्ष पुरा भएको दिन कम्लहरीले आज (बुधबार) शोक सभा गरेर दिवसलाई निरन्तरता दिएका हुन् । सरकारले २०७० साल असार १३ गते कम्लहरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्त कम्लहरीहरुले आफुहरु मुक्ति भएको दिनलाई सम्झेर अरु बर्ष हर्ष र उल्सालका साथ मनाउने गर्दथे ।

तर यो वर्ष केही दिन अगाडी मात्रै बर्दिया बासगढी नगरपालिका वडा नं. ४ अस्नेहरीकी ११ बर्षिय अस्मिता थारुको बलात्कारपछि हत्या गरिएको भन्दै आन्दोलित भएका कमलरीहरुले आफ्नो खुसीको दिनलाई शोकमा परिणत गरे ।
मुक्त कम्लरी घोषणा गर्न कम्लहरीहरुसंग राज्यले सहमती गरेको १० बुँदे सहमती अझै कार्यान्वयन नहुँदा मुक्त कम्लहरीहरुले अझै न्याय पाउन नसकेको मुक्त कम्लरी विकास मञ्चका केन्द्रिय उपाध्यक्ष दिल कुमारी चौधरीले बताइन् ।
उनले १० बुदे सहमतिलाई सरकारले कार्यन्वयन नगर्दा कन्चनपुर, कैलाली, दाङ, बाँके र बर्दिया जिल्लाका मुक्त कम्लहरीहरु र थारु समुदायका बालिकाहरु पुनः कमलरी बस्न बाध्य भैरहेको बताइन् ।
कमलरी प्रथा प्रचलित कानुन बमोजिम निशेधित कार्य भएकोले कमलरी राख्नेलाई कारवाही र कमलरीहरुको उद्दार र पुस्र्थापना गरियोस भन्नको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाई सकेपछि पनि राज्यले वास्ता नगरेको चौधरीको गुनासो छ ।
हालसम्म मालिकका घरमा काम गर्दा किशोरीलाई यातना दिने, बलत्कार गर्ने, हत्या गर्ने क्रम नरोकिएकोले आफुहरुको गम्भीर ध्यान आकर्षण भएको मुक्त कमलरी विकास मञ्च बाँकेकाी अध्यक्ष सिता थारुले बताइन्।
सरकारी घोषणा अनुसार बाँके लगायत अरु जिल्लामा कमलरी मुक्ति अभियानले सार्थकता पाउन सकेको छैन । मुक्ती घोषणा गरेको समयदेखि हालसम्म पनि ६ जना मुक्त कमलरीको अवस्था सार्वजनिक नगरेको र उनिहरुको अवस्था नाजुक रहेको अध्यक्ष थारुले बताइन्।
हाल कञ्चनपुरमा ९ सय २, कैलालीमा ३ हजार १ सय ६९, बर्दियामा २ हजार ८ सय ३८, बाँकेमा ७ सय ६३ र मा दाङमा ५ हजार १ सय ९७ गरि जम्मा १२ हजार ८ सय ६९ जना मुक्त कमलरीहरुको संख्या रहेको छ ।













