पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग सहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र
धनगढी, १२ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग सहित नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति कैलालीले ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार नेविसंघका केन्द्रीय सदस्य तपेन्द्र भुषालले मुख्यमन्त्री भट्टलाई कार्यालयमै सो ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै केन्द्रीय सदस्य भुषालले प्रथम र दोस्रो चरणको आन्दोलनलाई नजर अन्दाज गर्दै सरकारले वृद्धि गरेको मूल्य फिर्ता नगरेर दुई/तीन रुपैया प्रति लिटर घटाएको नाटक मञ्च गरेको बताए । उनले सरकारले गरेको नाटकले विद्यार्थीहरु थप आक्रोसित भएको बताए ।
उनले सरकारले कालो बजारीको यथाशिघ्र नियन्त्रण गर्न पनि माग गरे । विद्यार्थीहरुको आन्दोलनको मुख्य माग पुरा नभए थप आन्दोलन अघि बढाउने सो ज्ञापनपत्रमा उल्लेख छ । साथै उनले शान्तिपुर्ण आन्दोलन गरिरहेको बेला प्रहरी प्रशासनबाट भएको दमनका बारेमा मुख्यमन्त्रीलाई जानकारी दिए ।
‘शान्तिपूर्ण तरिकाले आफना माग सबैले राख्न पाउँछ तर, हामीले शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरी प्रशासनबाट दमन भएको छ’ उनले भने । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा केन्द्र सरकारसंग कुराकानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले प्रदेशभित्र कालोबजारी नियन्त्रण गर्न विषयगत कार्यालयलाई निर्देशन दिईसकेको बताए । ‘मैले पनि यहाँ कालोबजारी भईरहेको सुनेको छु’ मुख्यमन्त्री भट्टले भने ‘कालोबजारी रोक्न स्थानीय प्रशासनसंग छलफल गरि रोक्न निर्देशन दिईसकेको छु ।’ उनले जनतालाई सास्ती दिने काम कसौट भईरहेको छ भने त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने बताए ।













