मालपोत कार्यालयमा छड्के अनुगमन, कार्यालयको बेथिति नसुध्रिए विभागीय कार्वाही
धनगढी, १२ असार । मालपोत कार्यालयमा ढिलासुस्तीका साथै सहज रुपमा सेवा पाउँन नसकेको गुनासो पछि मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा छड्के अनुगमन गरिएको छ ।
सोमबार मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयको संयुक्त अगुवाईमा अनुगमन गरिएको हो । सो क्रममा लेखापढी व्यवसायीले सरकारी कागजात हातमा लिएर कार्यालय भित्रै आएर काम गरिरहेको भेटिएको थियो । अन्य सेवाग्राही वाहिर झ्यालमा उभिएर काम गर्नुपर्ने अवस्थामा लेखापढी व्यावसायी भने भित्र गएर काम गर्ने गरेको पाईएको थियो ।
लेखापढी व्यावसायीले जग्गा पास गराई दिन राजीनामा लेखेबाफत सेवाग्राहीबाट चर्को रकम असुल्ने गरेको गुनासो संगै कार्यालय बाहिर जथाभावी फोहोर, खानेपानीको व्यवस्था नभएको लगायतका गुनासो अनुगमन टोलीसंग राखेका थिए ।
अनुगमनपछि कार्यालयको सेवा प्रवाह छिटो छरितो बनाउन, कार्यालयमा रहेका कमजोरी सच्याउन र लेखापढी व्यवसायीलाई कार्यालयमा प्रवेश गर्न नदिन निर्देशन दिइएको थियो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले मालपोत कार्यालयको बेथिति नसुध्रिए विभागीय कार्वाही गरिने बताए ।
अनुगमन टोलीको निर्देशनपछि कार्यालयमा लेखापढी व्यावसायीलाई प्रवेश गर्न नदिनुका साथै कार्यालयमा रहेको कमी कमजोरीलाई तत्काल सुधार गर्ने निमित्त कार्यालय प्रमुख प्रेम माझीले बताए ।













