खोला नाला अतिक्रमण भएको जमिन खाली गरि साईकल ट्रयाक बनाउने : मेयर
धनगढी, १२ असार । धनगढी उप–महानगरपालिकाले खोलानाला क्षेत्रहरुमा गरिएको अतिक्रमण हटाउन साईकल ट्रयाक बनाउने भएको छ ।
खोलानालाहरु अतिक्रण हुदा यहाँ बर्षातको समयमा बस्तीमा पानी पस्ने तथा डुवान हुने समस्या भईरहेकोले सो क्षेत्रलाई खाली गरि साईकल ट्रयाक बनाउने बताउछन् नगरपालिकाका मेयर नृप वड ।
उनले नगर क्षेत्रमा पर्ने जिल्ला प्रहरी कार्यालय नाला, शिवनगर नाला, कैलाली नाला लगायतका खोला नालाहरु बर्षेनी अतिक्रमणमा पर्दै आएको बताए । खोला मिचेर संरचना बन्न थालेपछि हटाउन ठूलो चुनौती रहेको उनको भनाई छ । पटकपटकका चुनावहरुमा समेत यसलाई उम्मेदवारहरुले आफ्नो ऐजेन्डा बनाउदै आएका थिए । यस अघि पनि धनगढी उप–महानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउन प्रयास गरेपनि सफल भने भएको छैन ।
खोलानाला मिचेर बनाएका संरचनाहरु भत्काउन पटकपटक अनुरोध गर्दा पनि नमानेपछि आफै अगाडी बढ्नु परेको नगर प्रमुख वडले बताए । उनले भने, ‘मंगलबार मात्रै ५ भन्दा बढी स्थानमा डोजर र स्काईभेटरहरु लगाएर खोलानालाको अतिक्रमण हटाउने कार्य भैरहेको छ ।
४ दिन देखि नगरपालिकाले अतिक्रमण हटाउन सुरु गरेको बताउदै नगरप्रमुख वडले भने, ‘अहिले सम्म झण्डै १० किलोमिटर भन्दा बढी खोलानालाहरुको अतिक्रमण हटाउने काम गरिएको छ । नगरपालिकाले खोलानालाहरु सफा गर्ने काम समेत गरिरहेको छ । स्थानीयहरुको साथमा सम्वन्धीत वडाका वडा अध्यक्ष र आफु स्वयं अतिक्रण स्थलमा पुगेर काम गरिरहेको नगरप्रमुख वडले बताए ।
उप–महानगरपालिकाको वडा नं १, वडा नं ३, वडा नं ११, वडा नं ५ माखोलानालाको अतिक्रमण हटाउन डोजर र स्काईभेटरहरु प्रयोग गरिएको धनगढी उप–महानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले बताए । खोलानालाको अतिक्रमण हटाउने कार्यमा नगरवासीहरुको साथ रहेको छ प्रवक्ता मुडभरीले भने, ‘केहि ठाउँमा अतिक्रमणकारीले काम रोक्न प्रतिवाद समेत गरे । उनले नगरवासीको हितमा भएकाले गलत ढंगले खोलानालाको अतिक्रमण हटाउने काममा सबैको सहयोगको अपेक्षा पनि गरे ।
खोलानालाको अतिक्रमण हटाउन सकेमात्रै पनि धनगढी उप–महानगरक्षेत्रमा हुने डुवानबाट मुक्ति पाउन सकिन्छ प्रवक्ता मुडभरीले भने, ‘खोलानाला सम्मै अतिक्रमण गरेर संरचन ाबनेपछि खोलाले धार फेरेर बस्ती डुवानमा पर्ने हो । उप–महानगर क्षेत्रका खोलानाला अतिक्रमणको मुद्धा धनगढीमा लामो समय देखि उठ्दै आएको थियो ।
उप–नगरपालिकाले खोलानालाको अतिक्रमण र फोहर हटाउने कामलाई हामीले सकारात्मक रुपमालिएका छौ, धनगढी उप–महानगरपालिका १ का खडकबहादुर बिकले भने, ‘यसमा सबैले साथ दिनुपर्छ । उनले खोलानालाले आफ्नो ठाउँ लिदा बर्षातमा हुने डुवान रोकिने पनि बिकले बताए । उनले खोलानालाको अतिक्रमण हटाउने कामको प्रतिवाद गर्नेलाई सामाजिक रुपमा बहिस्कार गर्नुपर्ने बताए ।
नदीनालाको किनारमा साईकल ट्रयाक बनाउने
धनगढी उप–महानगरपालीकाले कैलालीको कैलालीनाला र मोहनानदिको किनारमा साईकल ट्रयाक निर्माण गर्ने भएको छ ।
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडका अनुसार आर्थिक बर्ष २०७५/०७६ को निति तथा कार्यक्रमा नै यो कुरोलाई प्राथमिकतामा राखिएको छ । यसरी साईकल ट्रयाक बनाउँदा कतिक्रमण र कटान रोकिनुका साथै पर्यटकिय क्षेत्रको रुपमा समेत विकास हुने नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाको वडा नं १, ३, ४, ५ र ६ को सामुदायीक वन क्षेत्र भित्रबाट कैलाली नाला बग्ने भएकाले वनक्षेत्रलाई उद्यानको रुपमा विकास गर्ने योजना रहेको पनि नगरप्रमुख वडले बताए ।
उप–महानगरपालिकाले वडा नं ३ को सामुदायीक वन क्षेत्र देखि शिवपुरी धाम—जाखौर ताल हुदै बेहडावावा सम्म साईकल ट्रयाक निर्माण गर्ने निति समेत नगरपालिकाले लिएको छ ।













