श्रीमानको हत्या गरिएको आरोपमा श्रीमति पक्राउ
धनगढी, १२ असार । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेको आरोपमा प्रक्राउ परेकी छिन् । गोदावरी नगरपालिका–१० कैलालीकी लक्ष्मी बडालले श्रीमान तेजबहादुर बिष्टलाई भासुको भिरबाट खसालेर हत्या गरेको आरोपमा पक्राउ गरेकी हुन् ।
बडाल र बिष्टबिच गएको वैशाखमा मात्रै विवाह भएको थियो । लक्ष्मी बडाल र गोदावरी–१२ खमौरा घर भएका दीपक खत्रीबिच लामो समयदेखी प्रेम सम्बन्ध भएपनि पारिवारिक समस्याका कारण उनी तेजबहादुर बिष्टसंग विबाह गरेकी थिइन् ।
लक्ष्मीले आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । लक्ष्मीले घुम्न जाने बहानामा कैलालीको भासु भिरबाट खसालेर श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित ससुराली आएका तेजबहादुर सोहीदिनदेखि बेपत्ता थिए ।
लक्ष्मी र उनका प्रेमीले असार ८ गते राति तेजबहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा लगेका थिए । भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि बिष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरीले जनाएको छ ।
अग्लो भासु भिरको डरलाग्दो खोल्सामा शव र मोटरसाइकल देखिएको कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरिसकेको उनले बताए । दुवै आरोपितलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













