कम्लहरी हत्याको विरोधमा प्रदर्शन
धनगढी, ६ असार । बर्दियाको बाँसगढी नगरपालिका–४ अस्नेरीकी ११ वर्षीया कम्लहरी अस्मिता थारुको हत्या भएको भन्दै कैलालीमा पनि विरोध प्रदर्शन भएको छ । कम्लहरी राख्ने र घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै मुक्त कम्लहरी विकास मञ्चको आयोजनामा सो विरोध गरिएको हो । । थारुले जेठ २९ गते राति ८ बजे आत्महत्या गरेको भनिए पनि उनको हत्या भएको मञ्चको दाबी छ ।
बर्दियाकै बढैयाताल गाउँपालिका–७ बस्ने दुर्गा भण्डारीको घरमा काम गर्दै आएकी अस्मितालाई मालिक परिवारले हत्या गरेको मञ्चकोे विज्ञप्तिमा उल्लेख छ । ‘पटक–पटक आफ्नो घर आउँदा मालिकले आफूलाई दिने यातना र गर्ने दुव्र्यवहारबारे आफन्तलाई बताउने गरेकी अस्मितालाई दुव्यर्वहार गरी हत्या गरिएको र अपराधबाट बच्न झुण्ड्याइ आत्महत्या गरेको देखाइएको घटनाक्रमले देखाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
घटनाको उजुरी दर्ता गरिएपनि हालसम्म अभियुक्तलाई कुनै कारवाहीको प्रक्रियामा नल्याएको मञ्च कैलालीकी अध्यक्ष विष्णा चौधरीले जानकारी दिइन् । मञ्चले आज कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।













