विकल्प बिना सुकुम्बासीको उठिबास

दाङ, ५ असार । तुलसीपुर १२ हरपौरीका ४२ घरपरिवारलाई उठिबास हुने गरि उनीहरुको घरबारीमा डोजर लगाइएको छ । ४० वर्ष पहिलेदेखि जोतभोग सहित बसोबास गर्दै आएका उनीहरुलाई स्थानीय जनप्रतिनिधिहरुले उठिबास गराएका छन् ।

बस्न पाउने संविधान प्रदत्त नैसर्गिक अधिकारबाट बञ्चित हुने गरि डोजर लगाएर उठिबास बनाउन लागिएको भन्दै त्यहाँका बासिन्दाले अन्य बासस्थान देखाइदिन सरोकारवासँग माग गरेका छन् ।

पशुपति मावि हरिपौरी विद्यालयले पहिले आफैले उक्त जग्गामा बस्न दिएको तर अहिले एक्कासी कुनै विकल्प नदिई सो जग्गा मेट्रो कलेजलाई दिने भन्दै तुलसीपुर उपनगरपालिकाको डोजर लगाएर किसानहरुलाई हटाएको छ ।

उक्त ठाउँमा बसोबास गर्दै आइरहेका ४२ घरपरिवारले केहिदिन अघि तुलसीपुर उपमहानगरपलिकासँग आफूहरुको बासस्थानको व्यवस्थाकालागि निवेदन पेश गरिका छन।

अन्यत्र बस्ने व्यवस्था नगरि घरबारी हटाएमा आफूहरु बिचल्लीमा पर्ने भनेर पहिले नै स्थानीय प्रशासनमा निवेदन दिसकेको र तुलसीपुरका मेयर घनश्याम पाण्डेले पनि उक्त पत्रमा सम्बन्धीत वडा र विद्यालय व्यवस्थापन समितिमा छलफल गराई नियमानुसार भनि आस्वासनपनि दिएका थिए ।

तर उल्लेखित पत्रलाई समेत लत्याउँदै अहिले जबरजस्ती डोजर लगाएर उठिबास गर्न खोजिरहेको किसानहरुले बताएका छन् ।
वर्षौदेखि भोगाधिकार गर्दै आइरहेको ठाउँबाट विस्थापित हुने गरि एक्कासी डोजर लगाएर आफूहरुलाई भूमिहिन बनाउनुका साथै आफ्नै देशभित्र शरणार्थी बनाउन लागिएको भन्दै उनीहरुले विरोध गरेका छन।