नेपालमै पहिलो ‘राना थारु होमस्टे’
कञ्चनपुर, २ असार । नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै राना थारुको बसोबास छ । राना थारुहरुले आफूलाई सुचिकृतमा पार्नको लागि राज्यलाई बेला बेला घच्घच्याईरहेका छन् ।
उनीहरुको आफ्नै पहिचान छ । भाषा, पहिरन, चाँड पर्व थारु समुदायको भन्दा अलिक फरक छ जसले गर्दा राना थारुहरु पनि आफ्नो कला संस्कृति, पहिरन, खानपिनको संरक्षण र प्रर्बद्धनकोलागि नेपालमै पहिलो पटक कञ्चनपुरमा सञ्चालन गरका छन् ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीमा राना थारु समुदायका स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् । कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायतका देशका अन्य क्षेत्रमा थारु र अन्य जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालनमा ल्याए जस्तै राना थारु समुदायले पनि शुक्लाफाँटा बन्यजन्तु आरक्षसँगै जोडिएको नयाँ बस्तीमा होमस्टे सञ्चालन गरेका हुन् ।
‘हाम्रो समुदायको नेपालमै पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि होमस्टे सुरु गरेका छौं,’ राना थारु सामुदायिक होमस्टे समितिका सचिव चेतराम रानाले पर्यटनको सम्भावना बोकेको शुक्लाफाँटा र एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको बीचमा होमस्टे भएकाले विस्तारै यस होमस्टेले गति लिन सक्ने विश्वस्त भएको बताउछन् ।
‘पर्यटकका लागि शुक्लाफाँटाको मयूर, चित्तल लगायतका पक्षी तथा जनावरहरु होमस्टेबाटै हेर्न सकिन्छ,’ उनले भने, ‘विश्वकै दुर्लभ बाह्रसिंगेको अवलोकन गरि बास बस्न होमस्टे आउन सकिने बताए । उनले होमस्टेमा परम्परागत परिकारको स्वाद दिन सकिने बताए ।’
तराई भू–परिधि कार्यक्रम (ताल)को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिले आवश्यक समन्वय गरेको सचिव रानाको भनाइ छ ।













