प्रदेश ७ को बजेट २५ अर्ब, सिकलसेल एनिमिया निवारणकोलागि डेढ करोड विनियोजन
धनगढी, १ असार । प्रदेश ७ सरकारले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग निवारणको लागि १ करोड ६० लाख बजेट बिनियोजन गरिएको छ ।
शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् । जसमा चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार बजेट विजियोजन गरिएको बताए ।
प्रदेश सरकारले ४९ करोड ३० लाख आन्तरिक राजश्व संकलनको लक्ष्य लिएको छ । केन्द्र सरकारले दिएको वित्तीय समानीकरण अनुदान र चालु आर्थिक वर्षको विनियोजनबाट बचत गरी ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार छ । राजश्व बाँडफाँटबाट आउने ७ अर्ब ५७ करोड १ लाख ६१ हजार र सर्शत अनुदानबाट प्राप्त हुने ६ अर्ब ३२ करोड ७८ लाख, समपुरक अनुदान २ अर्ब र विशेष अनुदानबाट २० करोड बजेटको स्रोत छ ।
बजेट भाषणमा अर्थमन्त्री बोहराले संघीयता कार्यान्वयन, कृषिमा आत्मानिर्भर बन्ने, सन्तुलित प्रादेशिक विकास, गरिबी न्यूनीकरण लक्षित कार्यक्रम, जलस्रोतको बहुउपयोग, व्यावसायिक शिक्षा, वन जडिबुटी, उद्योग, पर्यटन, सूचना प्रविधि र स्वरोजगारमूलक कार्यक्रम बजेटको प्राथमिकताको कार्यक्रम रहेको उल्लेख गरे ।
त्यस्तै, आउँदो आर्थिक वर्षदेखि किसान कल सेन्टर सञ्चालन गरिने भएको छ । भने बाँझो जमिन निरुत्साहित गरिने भएको छ । बाँझो जमिन राखिएको अवस्थामा जमिनको क्षेत्रफलको आधारमा १ हजारदेखि ५ हजारसम्म जरिवाना गरिने भएको छ ।
प्रदेश जिल्लाहरुमा प्रदेश बस सेवा सञ्चालन गरिने भएको छ । जसको लागि ४० बस सञ्चालन गरिने जनाइएको छ । पर्यटन प्रवद्र्धनको लागि ‘हाम्रो प्रदेश राम्रो प्रदेश’ नाराका साथ आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ । खप्तड क्षेत्रमा रिङ रोडको लागि बजेट समेत बिनियोजन गरिएको छ ।













