शहीद जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान घोषणा
धनगढी, २९ जेठ । शहीद जोखन रत्गैयाको १६ औं स्मृति दिवसमा शहीद जोखन रत्गैया चौधरी स्मृति प्रतिष्ठान घोषणा भएको छ ।
थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार शहीद जोखन रत्गैयाको १६ औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो ।
स्मृति दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ७ का मूख्य मन्त्री त्रिलोचन भट्टले जनयुद्धको क्रममा रगतको बलिदानी दिने महान शहीदको योगदानले देश नयाँ संरचनामा अगाडी बढेको बताए ।

उनले नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना हुनु शहीदहरुको संघर्ष रहेको बताए ।
मन्त्री भट्टले प्रदेश नं. ७ मा थारु बाहुल क्षेत्र रहेको कैलाली जिल्लाको सम्बृद्धि विकासको लागि थारु समुदायलाई राज्यको मूलधारमा ल्याउन जरुरी रहेको बताए ।
उनले शहीद परिवारको व्यवस्थापन संगै थारु समुदायको समस्यालाई सम्बोधन गरे मात्र शहीद जोखन चौधरीले दिएको योगदानको कदर हुने बताए ।

शहीदहरुको त्याग र तपस्याले आफूहरु पदमा पुगेको बताउँदै सरकार, पार्टी पङक्ति र जनप्रतिनिधिहरुले शहीद परिवारहरुलाई व्यवस्थापन गर्न योजना बनाएर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री विनिता चौधरीले तीनै तहको सरकारले शहीदहरुको बलिदानीको कदर गर्नु पर्ने बताउँदै उहाँहरुको योगदानले आफू सरकारमा आएको बताईन् ।
उनले शहीदको विचल्ली प्रति पार्टी पंक्ति सरकार सबै बेवास्ता गर्दै हिडेको बताउँदै अबको दिनमा उहाँहरुको व्यवस्थापन गर्न आफू प्रतिवद्ध रहेको बताइन् ।

उनले शहीदहरुको बलिदानीलाई हरेक पाईलामा सम्मान गरिनुपर्ने बताईन् ।
त्यसै गरि सामाजिक तथा विकास मन्त्री दिर्घ सोडारीले शहीद जोखन रत्गैयाले उठाएको माग मुद्धाको आन्दोलन पूरा भएको बताए । उनले हिजोको विचारलाई व्यवस्थित गर्दै सबै जातजाती, भाषा, कला संस्कृतिको सम्मान गरे शहीदहरुको सपना पूरा हुने बताए ।
उनले कैलाली जिल्लामा राज्य पक्षबाट होस् या विद्रोही पक्षबाट होस् दुवै पक्षका मुख्य मुख्य थारु नेता शहादत प्राप्त गरेको बताए ।
उनले थारु नेता विनोद चौधरी, जगत रत्गैया, मंगल चौधरीलगायतलाई सम्झदै प्रदेश नं. ७ मा थारु डेक्सको व्यवस्था गर्न सके उहाँहरुको रगतको सम्मान भएको महशुस गर्न सकिने बताए ।
कार्यक्रममा जगत रत्गैयाका आमा सुखली देबी डगौरा, प्रदेश ७ का सांसद, जनप्रतिनिधि, थारु अगुवालगायतको उपस्थिति रहेको थियो ।













