प्रदेश ७ को नीति तथा कार्यक्रम : सिकलसेल निदानका लागि विशेष कार्यक्रम
धनगढी, २७ जेठ । प्रदेश नम्बर ७ सरकारले नीति तथा कार्यक्रममा विपन्न थारु समुदायको वृहत्तर हितका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेको बताइएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश संसदमा ५८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
साथै थारु समुदायमा मात्र रहेको सिकलसेल रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
कार्यक्रम प्रस्तुत गर्दै उनले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रदेश सरकारले प्रोत्साहन गर्ने छ ।’
त्यस्तै नीति तथा कार्यक्रममा ‘एक गाउँ, एक स्वास्थ्य चौकी, एक स्थानीय तह एक अस्पतालको लागि नीतिगत र संरचनागत प्रबन्धको थालनी गरिने भएको छ । भने एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रम सञ्चालन गरिने भएको छ ।
प्रस्तुत कार्यक्रममा कञ्चनपुरको गड्डा चौकी हुँदै अत्तरिया–कर्णाली चिसापानीसम्मको महेन्द्र राजमार्गलाई ६ लेन बनाउन डिपिआर तयार गरिने विषय उल्लेख छ ।
आगामी दुई वर्षभित्र प्रदेश–७ लाई साक्षर प्रदेश घोषणा गरिने भनिएको छ । त्यस्तै, जेष्ठ नागरिक, मुक्त कमैया, कमलरी, बादी, राउटे, राजीलगायत सीमान्तकृत तथा वञ्चितीकरणमा परेका वर्ग तथा समुदायको पुनस्र्थापना र बृद्धि विकासको कार्यक्रम ल्याइने जनाइएको छ ।













