भारत लगिँदै गरेका १८ बालबालिका कञ्चनपुर प्रहरीद्धारा उद्धार
कञ्चनपुर, २५ जेठ । भारततर्फ लगिँदै गरेका १८ बालबालिकालाई कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट प्रहरीले उद्धार गरेको छ ।
इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताए । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएको बताए । पक्राउ परेका २ व्यक्ति पनि सोही गाउँपालिका निवासी ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विक रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा राखिएको छ । भारततर्फ जाने क्रममा बालबालिकासँगै रहेका बालवालिकाहरु भारतमा रहेका आफन्तहरुको सल्लाह अनुसार नै काम गर्न जान लागेको प्रारम्भिक रुपमा बुझिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार ती बालबालिकाहरुका बारेमा थप बुझ्ने काम भइरहेको छ । प्रारम्भिक अनुसन्धानले ती बालिकाहरु काम गर्न घरबाट हिँडेको देखिए पनि प्रष्ट भइनसकेको इन्स्पेक्टर कर्णबहादुर बमले बताए ।अछामबाट कम उमेरका बालबालिकाहरुलाई अभिभावकले मजदुरी गर्न भारततिर पठाउने गरेका छन् ।
लामो समयदेखि यस्तो प्रवृत्ति देखिए पनि यसमा कुनै सुधार आएको छैन । साभार:अनलाईन खबर













