जतीय विभेद प्रकरण : हत्यारालाई कर्तव्य ज्यानमा मुद्दा दर्ता
कालिकोट, २४ जेठ । जातीय विभेद हुने गाली गलौजसहित कुटपिट पछि हत्या गरिएकी कालिकोटकी ४५ वर्षीया मना सार्की हत्याको प्रहरीले मुद्दा दर्ता गरेको छ ।
नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ दलित महिला सदस्य मनाको यही जेठ १९ गते राती सवा ८ बजे छिमेकी २२ वर्षीया राजीन्दा शाही र १९ वर्षीया सिर्जना शाहीले जातीय अपमान हुने गाली गलौज गर्दै लाठी र मुड्कीले कुटपिट गरी हत्या गरेको जनाउँदै मृतकका जेठा छोरा पदम सार्की नेपालीले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरीले मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी प्रमुख सुवास बोहोराका अनुसार उनीहरू विरुद्ध कर्तव्य ज्यानको महलमा मुद्दा दर्ता भएको छ । किटानी जाहेरी परेका दुवै जना युवतीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
मृतक मना सार्की
आफ्नो बुवासँग अवैध सम्बन्ध राखेको आरोपमा स्थानीय कम्मरबहादुर शाहीका दुई छोरीले दलित महिला सदस्यमा निर्वाचित सार्कीलाई कुटपिट गरेका थिए ।
प्रत्यक्षदर्शी समेत रहेका मृतकका कान्छा छोरा नेत्र सार्कीले शनिबार राती ९ बजेतिर बाहिरबाट आमालाई दुई जनाले कुट्दै ल्याएको बताए । उनले दिनभरी मकै गोडेर बेलुकी ५ बजे घर फर्किएकी आमा बेलुकीतिर प्याज ल्याउन गडी गाउँ गएको र प्याज ल्याएर धारामा हात खुट्टा धोइरहेको बेला आक्रमण गरेको बताएका छन् ।
राजीन्दा र सिर्जनाले आमालाई धाराबाटै कुट्दै र गाली गर्दै छिमेकी तपेन्द्रको घरमा रुवावासी भएको सुनेपछि दिदी र आफू गएको नेत्रले बताए । ‘मलाई पनि कमारा (अपमान हुने शब्द) तेरी आमामाथि चढ् भन्दै कुटे’ उनले भने, ‘त्यसपछि दिदीले आमालाई घर ल्याएपछि राती ११ बजे मृत्यु भयो ।’













