एसएसबीको ज्यादती : भारतबाट स्वदेश फर्कदै गरेका नेपाली कुटिए
दार्चुला, २४ जेठ । नेपाल भारतको सीमानामा रहेको पुल तरेर भारतबाट नेपाल फर्किंदै गरेका नेपाली एसएसबीबाट कुटिएका छन् ।
दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् । उनको आँखामा चोट लागेको छ ।
नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।
घटनापश्चात भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन गरिने प्रहरी स्रोतले बताएको छ ।













