विप्लवलाई चुनौतिको रुपमा किन लिँदैछन् गृहमन्त्री बादल ?
काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई चुनौतिको रुपमा लिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेदेखि नै विप्लव नेतृत्वको नेकपा र उसको राजनीतिक गतिविधिलाई कुनै मतलब नराख्दै आइरहेका यही बेला विप्लवलाई राजनीतिक रुपमा किन लिँदैछन् बादल ? नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएका छन् ।
देशमा अस्थिरता फैलाउने काममा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी गराइराखेको शक्ति भएको उनले आरोप लगाए । पत्रकार सम्मेलनमै गृहमन्त्री बादलले विप्लवलाई ‘राज्यद्रोही’को संज्ञा दिए । व्यवहारमा सच्चिाएर नआए सरकार नेकपाप्रति कडा रुपमा प्रस्तुत हुने बताए ।
मंगलबार गृहमन्त्रालय आयोजित नियमित सम्मेलनमा संचारकर्मीमाझ् धारणा राख्दै बादलले देशमा अतिवादी र विखण्डनकारीले ठाउँ (स्पेस) लिने कोशिस गरिरहेको बताउँदै त्यसलाई निस्तेज पार्न सरकारले कठोर रुपमा प्रस्तुत हुने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधि राजनीतिक प्रवृत्तिमा आधारित भएपनि उग्रवाद हाबी रहेको उनको भनाई छ । ‘अहिलेको संविधानलाई मान्दैनौं, राज्य व्यवस्थालाई उल्टाउनुपर्छ भन्छ । आफूलाई नेकपा विप्लव भन्छ’ उनले भने । नेकपासँग राजनीतिक व्यवहार गर्न अहिले नै नसकिने धारणा उनले राखे ।
चुनावका बेला बम पड्काउने र एनसेलका टावरहरुमा बम हान्ने काम विप्लव नेतृत्वको नेकपाले गरेको दाबी उनले गरे । ‘उनीहरुलाई राजनीतिक मूलप्रवाहमा ल्याउन प्रधानमन्त्री तहबाटै प्रयास भइरहेको छ’ उनले भने ।
पत्रकार सम्मेलनमा बादलले सीके राउत विखण्डनकारी, कट्टर हिन्दु धर्म पक्षधर र क्रिष्चियनिटी मुख्य अतिवादी भएको बताए । तिनहरुको गतिविधिलाई गम्भीर रुपमा लिएर त्यसलाई रोक्न सरकार ठोस योजनासहित लागिरहेको बताए ।
स्मरण रहोस्, विप्लव र बादल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवाद)द्वारा दलाल संसदीय व्यवस्थाविरुद्ध नयाँ जनवादी सत्ता स्थापना गर्ने उद्देश्यसाथ संचालित दस वर्षे जनयुद्धका सहयात्री हुन् ।
अहिले विप्लव जनयुद्धका उद्देश्यप्रति तत्कालीन नेतृत्व तहका प्रचण्ड–बाबुरामहरुले धोका र गद्दारी गरेको भन्दै पार्टीलाई नेकपामा पुनर्गठन गरेर वर्तमान संसदीय व्यवस्थालाई भत्काई वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेर संघर्षरत छन् ।
तर लामो समय मोहन वैद्य नेतृत्वको पार्टीमा रहेर धेरैपछि मात्र प्रचण्ड कित्तामा मिसिन पुगेका बादल अहिले पुरानै संसदीय व्यवस्थाअन्तर्गत सरकारका गृहमन्त्री छन् ।













