विद्युतको विल ई–सेवाबाट तिर्न सकिने
धनगढी, २१ जेठ । धनगढी विद्युत प्राधिकरणले इ–सेवासंग सम्झौता गरेर अनलाइनबाट विद्युत बिल भुक्तानी सेवा आज देखी सुरु गरेको छ ।
धनगढी र अत्तरिया वितरण शाखाका ग्राहकहरुले अब घरबाटै पनि विद्युत बिल तिर्न सक्ने धनगढी वितरण शाखाका प्रमुख धिरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले विद्युत विल तिर्नका लागि ग्राहकहरुले घण्टौं लाइन लाग्ने बाध्यता हटेको बताए । मोबाइल एप्सबाट घरमै बसेर पनि विद्युत बिल तिर्न सक्ने व्यवस्था गरिएको छ । यसका साथै इ–सेवामा गएर विद्युत बिल तिर्न सकिने जनाइएको छ । इ–सेवाबाट बिल तिर्दा कुनै पनि शुःल्क नलाग्ने यादवले बताए ।
उनले प्राधिकरणले ग्राहकको चापलाई मध्यनजर गरेर प्रभु बैङ्क, सिटी एक्सप्रेस, सीएफएस रेमिट, नेपाल इन्भेष्टमेन्ट बैङ्क, महाकाली बैङ्क र पे प्वाइन्टबाट पनि विद्युत बिल तिर्न सक्ने व्यवस्था गरेको जानकारी दिए । धनगढी वितरण शाखाको ४३ हजार र अत्तरिया वितरण शाखाको १० हजार ग्राहक छन् ।
दुवै वितरण शाखाका ५३ हजार ग्राहकले अनलाइनबाट बिल भुक्तानी गर्न सक्ने जनाइएको छ । यसअघि, पहाडी क्षेत्र फल्टुडेका ग्राहक अत्तरियामा र पवेरा, हसुलिया, रतनपुरको ग्राहक धनगढीमा विद्युत बिल तिर्न आउने गर्दथे ।
अनलाइन सेवाले ती क्षेत्रका ग्राहकहरुलाई धेरै सजिलो हुने छ । इ–सेवाबाट विद्युत बिल तिर्नका लागि इ–सेवा खाता खोल्नु पर्ने इ–सेवा प्रदेश संयोजक कमल बमले बताए । उनले खाता खोल्दा कुनै पनि शुःल्क नलाग्ने जानकारी दिए ।













