गोली हानी साढे ९ लाख लुट्नेहरु काठमाडौंबाट पक्राउ

धनगढी, २१ जेठ । जेठ १३ गते विहान कैलालीको धनगढीबाट ९ लाख ५० हजार रुपैयाँ लुटेर भागेका २ जनालाई काठमाडौंबाट पक्राउ परेका छन् ।

उनीहरु धनगढीको मेनरोडमा रहेको सिद्धार्थ बैंकबाट रकम झिकेर आईएमई सेन्टरमा जाँदै गएको आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरेरी रकम लुटेर भागेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सोमवार विहान काठमाडौंको गोंगबुबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २८ वर्षीय राम प्रवेश राना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियाका २३ वर्षीय कालु राना (कल्लु) रहेका छन् ।

कल्लु भनिने कालु राना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । जबरजस्ती करणी अभियोगमा २०६८ सालमा कञ्चनपुरमा पक्राउ परेका कल्लु २०७४ माघमा छुटेका थिए ।