प्रदेश सरकारको सय दिन : मुख्यमन्त्री आफैं असन्तुष्ट

धनगढी, १४ जेठ– प्रदेश नं. ७ सरकारले आफ्नो एक सय दिन मनाइरहँदा मुख्यमन्त्री त्रिलोचन भट्ट नै कानुन, भौतिक सरचना र कर्मचारी अभावमा जनअपेक्षा अनुसार तिव्र गतिमा काम गर्न नसक्दा असन्तुष्ट भएको बताए ।

प्रदेश सरकारले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गर्दै उनले आफ्नै सरकारको एक सय दिन सन्तुष्टिजन नरहेको बताए ।

‘नयाँ संघीय संरचना, कर्मचारी व्यवस्थापन, भौतिक संरचना, नीति एंव कानून निर्माणलगायत सबै कामको सुरुवात जिरोबाट सुरुवात गरेका छौ । जुनकारण जनआपेक्षा अनुसार जति तीब्र गतिमा काम गर्न चाहेका थियौ, त्यो अनुसार काम नभएको लाग्छ’, आयोजित एक सय दिनको उपलब्धी सार्वजनिकमा मुख्यमन्त्री भट्टले भने–‘तर हामी संघीयको जग बसाल्न सफल भएका छौ । नयाँ अभ्यासको थालनी गरेका छौ । आंशिक बजेट ल्याउन सफल भएका छौ ।’

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले एक सय दिन उपलब्धीपूर्ण भएको बताए । एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै उनले प्रदेश सरकार कार्य्विभाजन, कार्यसम्पादन नियमावली, केही सार्वजनिक लिखत प्रमाणिकरण नियमावली पारित भएको बताए ।

त्यस्तै उनले सरकारका मन्त्रीपरिषद सदस्यको आचारसंहिता, स्वेतपत्र, विभिन्न कार्य्विधि, विद्येयकलगायत तीन दर्जन बढी महत्वपूर्ण कानूनी दस्तावेज ल्याउन सफल भएको जानकारी दिए ।