साँफेबगर विमानस्थलको परीक्षण उडान सफल
अछाम, ११ जेठ । विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान गरिएको छ ।
विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि समिट एयरको १९ सिट क्षमताको विमानले परीक्षण उडान गरेको हो ।
उक्त एयरको विमान बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थलमा अवतरण गरेको थियो । तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएका थिए । बीचमा केही समय सञ्चालनमा आए पनि २०६२ सालदेखि पूर्णरूपमा बन्द थियो ।
निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पुरा भएको बताएको छ । मानस्थलको ५ सय मिटर लम्बाइ र ८० मिटर चौडाइ भागमा कालोपत्रे गरेको छ । भ्याटसहित ११ करोड ५० लाख रुपैयाँको लागतमा कालोपत्रे भएको हो ।
पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ । प्रदेश नं।७ को २ वटा विमानस्थल रहेको एक मात्र पहाडी जिल्ला अछाम हो । अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर र कमल बजारमा गरी २ स्थानमा विमानस्थल छ ।
जिल्लामा २ वटा विमानस्थल भए पनि सञ्चालनमा नहुँदा स्थानीयले लाभ लिन पाएका छैनन् । विमानस्थल सुचारु भएपछि आवतजावतमा सजिलोका साथै उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्नेमा कमी आउने स्थानीयको भनाइ छ ।
२०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा थियो । तर, कमलबजार विमानस्थल सञ्चालनका लागि भने अझै पहल नहुँदा गौचरणमै सिमित रहेको छ ।













