प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बेहडा बाबा, गंगादशहरा मेलामा ३ लाख पर्यटक भित्रित्याउने लक्ष्य

धनगढी, ९ जेठ । धार्मिक र ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिर तथा गंगादहरा मेलामा तीन लाख पर्यटक अवलोकन गर्ने लक्ष्ये रहेको जिल्ला समन्वय समितिको संयोजक शूर्याबहादुर थापाले बताएका छन् ।

धनगढी उपमहानगरपालिका–१६ (साविक उर्मा–४) रामपुरस्थित बेहडाबाबा मन्दिर क्षेत्रलाई प्रदेश नं. ७ कै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्यको उनले बताए । मेला जेठ १० देखि १४ गतेसम्म चल्ने भएको छ ।

विगतको वर्षमा स्थानीय स्तरबाटै मेलाको आयोजना तथा व्यवस्थापन हुँदै आएको थियो । तर चालु वर्षमा भने स्थानीयको समन्वयमा जिल्ला समन्वय समिति कैलालीले मेला आयोजनाको जिम्मा लिएको छ । कैलालीमा जारी ‘कैलाली भ्रमण वर्ष’मा यस धार्मिक क्षेत्रलाई प्रमुख गन्तव्यस्थलको रूपमा समावेश गरेर तयारी थालिएको हो ।

समन्वय समिति कैलालीका सभापति सूर्यबहादुर थापाले मेलाको तयारी पूरा भएको जानकारी दिए । मेला व्यवस्थापन तथा मन्दिर रंगरोगनमै २५ लाख बढी खर्चेर तयारी गरेको बताउँदै उनले जेठ ९ गते बिहान मुख्यमन्त्रीबाट मेलाको विधिवत उद्घाटन हुने बताए । ‘मेलालाई रोलमोडलकै रूपमा विकास गर्ने योजना बनाएका छौँ, त्यहीअनुसार नै तयारी थालेका छौँ’, उनले भने ।

त्यस्तै बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले मेलामा खानेपानीको व्यवस्था, सुरक्षा सतर्कता, यातायात, स्थल व्यवस्थापनको कार्य पूरा भएको जानकारी दिए ।

‘विगतको वर्षमा व्यापारीले स्टल आफैँ बनाउनुपथ्र्यो, तर यो पालि आयोजकबाट निर्माण भएको छ । प्रयाप्त खानेपानीको व्यवस्था गरेका छौं, मन्दिर परिसरमा मात्रै २० वटा धारा जडान गरेका छौँ, मेला परिसरमामा धाराको व्यवस्था गरेका छौँ’, उनले भने– ‘विगतको वर्षमा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो, यो वर्ष शौचालयको व्यवस्था गरेका छौँ । सवारी पार्किङको व्यवस्था पनि मिलाएका छौँ ।’

मेलामा ६ सय बढी विभिन्न व्यापारिक स्टल रहने जनाइएको छ ।

चालू वर्ष मेलालाई धार्मिक पर्यटनसँग जोडिएको छ । मेला अवधिमा ४ लाख बढी दर्शनार्थी तथा अवलोकनकर्ता भित्र्याउने लक्ष्य लिइएको छ । जसमध्ये ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य जिल्ला समन्वय समितिले लिएको छ ।

स्थानीयका अनुसार बेहडबाबा दर्शनको लागि आउने दर्शनार्थीमध्ये भारतीयहरूको संख्या नै उल्लेख हुन्छ । जसअनुसार भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी तयारी थालिएको छ । जसको लागि भारतको उत्तर प्रदेशस्थित विभिन्न शहरहरूमा समेत प्रचारप्रसार तथा पम्प्लेटिङ समेत गरिएको जिल्ला समितिले जनाएको छ ।

त्यस्तै, भारतीय दर्शनार्थीहरूलाई सीमा नाका (गौरीफन्टा नाका)मै सर्बत पानी खुवाएर स्वागत गरिने भएको छ । ‘सीमा नाकामै खानेपानी र मन्दिरसम्मको बस सेवा सञ्चालनको प्रबन्ध मिलाएका छौ’, सभापति थापाले भने ।

बेहडाबाबाको विशेषतास्

बेहडा बाबा प्रदेश नं. ७ को मात्रै नभई मुलुककै बहुचर्चित आस्थाको केन्द्र मानिन्छ । जहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभ लगायत धेरै मनोकांक्षा बोकेर तिर्थालुहरू आउने गरेको स्थानीय बताउँछन् । राज्यको उचित लगानी हुन नसक्दा ओझेलमा पर्दै आएको छ ।

स्थानीय बुद्धिजीवीहरूका अनुसार मन्दिर भएको स्थान घनाजंगल रहेको स्थान हो । परापूर्वकालमा शिवलिंग आफैँ उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी तथा वयोवद्धहरूको भनाइ छ । रामपुर गाउँस्थित जंगलकिनारमा अवस्थित सो मन्दिरमा भएको शिव लिंग परिवर्तनशील देखिएको छ ।

उहिले भारतीयहरूको सो क्षेत्रमा दबदबा थियो । जंगबहादुर राणाले व्रिटिश कम्पनीलाई सघाएवापत प्राप्त भएको नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भू–भागमा उहिले भारतीयहरू नै आवतजावत गर्ने गर्थे । त्यस ठाउँमा बाक्लो जंगल भएका कारण त्यहाँ मानिसहरूको त्यति बसोबास थिएन । जब सो मुलुक नेपाललाई भारतले बक्स गरेपछि त्यहाँ फाट्टफुट्ट नेपाली मूलका आदिवासीहरू त्यहाँ बसोबास शुरु गरेको बताइन्छ ।

भारतीय नागरिकहरू त्यहाँ घुम्न आएका बेला सो लिंग फेला पारेका थिए । भारतीयहरू शिव लिंगमा डोरीले बाँधेर कयौंपटक उखेल्न प्रयास गरेको तर उनीहरूको प्रयास असफल भएको जनाइएको छ ।

उखेल्न नसकेपछि उनीहरूले फलामको घनले हिर्काएका थिए रे । घनले हिर्काएको छाप अहिले पनि लिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ । उनीहरू लिंगलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत)मा लग्ने लाखप्रयास गर्दा पनि लिंग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।

आदिवासी थारूहरू त्यस ठाउँको जंगल फँडानी गरी बस्नयोग्य बनाएपछि चलाख भारतीय नागरिक पनि त्यहाँ आइ बसोबास गरेको मानिन्छ । मन्दिर स्थापना गर्न तथा त्यसको स्यहारका लागि पनि भारतीय नागरिक त्यहाँ बसाँइगर्न आएको जनविश्वास छ । सानो रूपमा देखिएको सो शिवलिंग अहिले बढ्दै–बढ्दै ७/८ फिट अग्लो भएको छ । अहिले त्यहाँ पक्की मन्दिर स्थापना गरिएको छ । तर पूजारी भने अहिले भारतीय नागरिकलाई हटाइ त्यहाँका आदिवासीहरूलाई नियुक्त गरिएको छ ।

मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ । त्यस तलाउमा स्नान गरी दर्शनार्थीहरू शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलासयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ ।

यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ । यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटकहरू दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् ।

मन्दिरसम्म कसरी पुग्ने ?

बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट करीब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करीब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।