विप्लव आतंककारी होइन : गृहमन्त्री थापा

धनगढी, ९ जेठ । गृहमन्त्री रामबहादुर थापाले सरकारको मुख्य लक्ष्य देशमा विकासको तीब्रतासंगै त्यसका बाधाका रूपमा रहेका भ्रष्टाचार, अनियमितता, असुरक्षालाई चाँडै अन्त्य गर्ने बताएका छन् ।

उनले युवाहरूलाई देश विकासमा लगाउन सरकार तयार रहेको बताउदैै उनीहरूलाई कुलतबाट बचाउन विशेष पहल गर्ने बताए । विकास र समृद्धिमा जोड दिँदै आएका गृहमन्त्री थापाले विकासकै लागि सिण्डीकेटको अन्त्य गर्न खोजेको बताए ।

नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूह पनि सुरक्षा चुनौतिका रूपमा आएको छ । अब उनीहरूलाई आतंककारी घोषणा गर्नुहुन्छ, भन्ने प्रश्नको जवाफमा उनले हामी सबै खालका सुरक्षा चुनौतिलाई राजनीतिक र प्रशासनिकरूपमा समाधान गर्न खोजिरहेको बताए ।

हालै कैलालीको लम्कीमा रहेको रेडियो पश्चिम आवाजमा अन्तर्वार्ताका क्रममा विप्लवका कार्यकर्ता पक्राउ गरिएको सन्दर्भमा उनले सरकार जहाँसुकै गएर भ्रष्टाचार, तस्करी र जघन्य अपराधीलाई पक्राउ गर्न सक्ने बताए । उनले अब अपराधीको अन्तिम छटपटि भइरहेको औंल्याउँदै प्रतिगामी तत्त्वहरू अपराध बढाउन अन्तिम प्रयासमा जुटेका छन्, यसलाई सरकारले निषेध गर्ने बताए ।

उनले दुईवटा ठूला शक्तिशाली कम्यूनिस्ट पार्टीको एकीकरण पनि देशको समृद्धिका लागि भएकोले अब विकास र समृद्धि कसैले रोक्न नसक्ने ठोकुवा गरे । पत्रकार सम्मेलनपछि नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा सात नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ ।