पढाईको लागि उमेर बाधक होईन : कक्षा ३ मा भर्ना भएका थारु महिला

धनगढी, ९ जेठ । जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कड स्थित छोटेलाल स्मृति प्राथमिक विद्यालयमा ४९ बर्षिय मनबुझौनी देवी चौधरी सहित सात जना विद्यालय भर्ना भएका छन् । पढाईको लागि उमेर बाधक होईन भन्ने उदाहरण सावित गर्दै थारु महिला आफ्ना छोराछोरीसंगै स्कुल भर्ना भएका छन् ।

मनबुझौनी देवीसंगै स्थानीय ४६ बर्षिय पानमति चौधरी, ३८ बर्षिय हिरा देवी चौधरी, ४७ बर्षिय सुझापति चौधरी, ३३ बर्षिय कृष्णा देवी चौधरी सहित सात जना महिला कक्षा तीनमा भर्ना भएका छन् ।

उनीहरु बैशाख ३१ गते विद्यालय भर्ना भएका हुन् । आफ्नो पढ््रने इच्छा रहेपनि माईतिमा आमा बुवाले नपढाएको बताउदै अहिले स्कुल भर्ना भएका हुन् । हरेक क्षेत्रमा शिक्षाको महत्व बढ्दै गएकोले आफूहरु स्कुल भर्ना भएको बताउछन् ।

गाउँका स्वयम् सेविका समेत रहेका मनबुझौनी देवी चौधरी हरेक क्षेत्रमा शैक्षिक योग्यता माग्ने भएकोले उमेर ढल्केपनि पढ्ने इच्छा जागेको बताईन् ।

भजनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुन्दर प्रसाद चौधरीका श्रीमति पानमति पनि स्कुल भर्ना भएकी छिन् । आफू नेपाली भाषा बोल्न गाह्रो भएकोले नेपाली भाषाकैलागि पनि पढाई आवश्यक रहेको बताउछिन् ।

वडा अध्यक्षले नै श्रीमतिलाई पढ्ने प्रेरणा दिएको बताउदै १० बर्ष पहिलै स्कुल भर्ना हुन खोजेपनि स्कुलले भर्ना लिना नमानेपछि उनी शिक्षाबाट बञ्चित हुनपरेको थियो ।

छोटेलाल प्राविका प्रधानाध्यापक कुमार कठरिया भर्ना भएका सबै महिलाहरुलाई कक्षा ३ मा भर्ना गरेको बताए । उनीहरुके पढाईमा सहयोगको लागि विद्यालय कुनैपनि कसुर बाँकी नराख्ने प्र.अले भने ।