धारा छोएको निहुमा दलित र गैरदलित विच झगडा

पीडितले दिए जातीय छुवाछुतको उजुरी

धनगढी ७ जेठ । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १० उदासीपुरमा धारा छोयो भन्दै दलित र गैरदलित विच झगडा भएको छ ।

दलित महिला अधिकार मञ्च नेपालद्धारा सञ्चालित लालीगुँरास समुहका दलित महिलाले बाटोको छेउमा रहेको धारा छोएपछि सो घटना भएको हो ।

नगरपालिकाले बैशाख ३० गतेका दिन वडा नं. १० मा लक्षित समुदायलाई तीन दिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको थियो । सो कार्यक्रममा सहभागि हुन जाने समुहका महिलाहरु बाटोकै छेउमा रहेको पार्वती धामीको नल्काको पानी खाएको निहुमा कुटाकुट भएको थियो ।

समुहका महिला दीपा विक, राज्यश्वरी सुनार, मिना विक, लक्ष्मी विक, अनिता सुनार र रुपा विक लगायतको टोलीले सो नल्काको पानी खाएका थिए ।

पीडित महिलाहरुले हामी दलित भएकै कारण धामीले हामीमाथि कुटपिट गरेको आरोप लगाएका छन् । उनीहरु जातीय छुवाछुत भएको भन्दै नगरपालिका हुदै इलाका सम्म पुगेको बताउछन् दलित महिला अधिकार मञ्च नेपालका सामाजिक परिचालक दानबहादुर विक ।

उनले आफुले निर्माण गरेको समुह माथि नै यस्तो घटना घट्यो गाउँमा चारै तिरबाट मिलाउनलाई दबाब आएको बताउदै ‘हामी मिल्दैनौं, संविधानमा उल्लेखित कानुन बमोजिम न्यायको खोजीमा छौं ।’

दलित र गैर दलितबाट हुने छुवाछुत अन्त्यका लागि देशमा थुप्रै आन्दोलन समेत भईसकेको छ । कानुनले कुनैपनि जात भात, छुवाछुत गर्न पाईन्दैन भनि संविधानमै लेखिदिएको छ । तर व्यवहारमा भने दलित समुदयले भोग्ने यस्ता समस्या तमाम छन् ।

यस्तै घटना बैशाख ३१ गतेका पनि भएको थियो, जुन मिलापत्रमै टुंगियो ।

कैलाली जिल्ला प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढामगर जातीय छुवाछुटको घटना फैजदारीमा जाने बताए । उनले सो मुद्धा इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको बताउदै बताए ।