‘नेकपा’ नामबारे कट्टेलको विरोध (विज्ञप्तिसहित)

 

काठमाडौं, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रले आफ्नो पार्टीको नामसँग जुधाएको भन्दै आपत्ति जनाएका छन् । उनले उक्त कार्य गैरकानुनी भएको समेत बताए ।

अध्यक्ष कट्टेलले आइतबार विज्ञप्ति जारी गरेर संविधान र दल दर्ता सम्बन्धि कानुनका अनुसार निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै पनि एमाले र माओवादी केन्द्रले नाम असंवैधानिक र गैरकानुनी रुपमा नाम जुधाएको बताएका छन् । उनले संचारमाध्यमहरुले नेकपा अन्डरलाइनलाई नेकपा भनेर गलत समाचार सम्प्रेशरण गरेकोप्रति आपत्ति समेत जनाए ।

“नेपाल कम्युनिस्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल हो । पछिल्लो पटक निर्वाचन आयोगलको मिति २०७४।५।२२ को निर्णयअनुसार संवधिानको धारा २७१ र राजनीतिक दल सम्बन्धि ऐन २०७३को दफा ४८ अनुसार नेपाल कम्युनिस्ट पार्टी दर्ता गरी निर्वाचन चिन्ह घन कोदालो प्रदान गरेको छ” कट्टेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक दायराबाटै संघर्ष अगाडि बढाउने र एमाले र माकेले गैरकानुनी र असंवैधानिक बाटो अवलम्बन गरे प्रतिरोध गर्ने चेतावनी दिँदै कट्टेलले भने, “नेपाल कम्युनिस्ट पार्टी वर्तमान समयमा संवैधानिक दायरा भित्रैबाट आफ्नो संघर्ष अगाडि बढाउन चाहन्छ । यदि सत्तासिनहरु असवैधानिक एवं गैरकानुनी बाटो अवलम्बवन गर्दछन् भने नेपाल कम्युनिस्ट पार्टी त्यसको प्रतिरोध गर्न सक्षम रहेको पनि जानकारी गराउन चाहन्छौं ।”