दलितभित्रै आन्तरिक छुवाछुतको वर्चस्व : दुई जातकाले पानी खाने कुवा नै छुट्टै

धनगढी ६ जेठ । जातीय छुवाछुत विरुद्ध आवाज उठाउँदै आएको दलित समुदायभित्र पनि आन्तरिक छुवाछुतले वर्चस्व जमाएर बसेको छ ।

गैर दलितबाट हुने छुवाछुत अन्त्यका लागि संघर्ष गर्दै आइरहेका दलित समुदायले आफैभित्रको आन्तरिक छुवाछुतलाई भने निराकरण गर्न नसकेको उदाहरण कैलाली जिल्लामा प्रशस्त छन् ।

गत वैशाख ३१ गते गोदावरी नगरपालिकाको वडा नम्बर १२ स्थित बाँगेसालमा आफूहरुले प्रयोग गर्दै आएको कुवा छोएको भन्दै विश्वकर्मा जातको व्यक्तिले दमाई जातको व्यक्तिमाथि कुटपिट गरेको थियो । तर उक्त घटनालाई गाउँमै मिलापत्र गरि टुङ्याइयो ।

साविक गोदावरी गाविसका पूर्व अध्यक्ष भानसिंह विकका परिवारले आफ्नो कुवा छोएको भन्दै स्थानीय १९ वर्षीय सागर नेपालीमाथि कुटपिट गरेका थिए ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराउन खोज्दा अब फेरी यस्तो घटना नदोहोरियोस् भनि दुबै पक्षको सम्झौतामा मिलापत्र गरिएको थियो ।

पीडक पक्षले यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धताका साथ यहि शुक्रबार पीडितसंग माफि मागेपछि दुवै पक्षबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

गोदावरी नगरपालिका स्थित ओलानीमा दलितभित्रै छुवाछुतको अवस्था तमाम छ । सुगम जिल्लाको दुर्गम ठाउँ पर्ने ओलानीमा आफूलाई उच्च भनाउने विश्वकर्माले र तल्लो जात भनिएका दमाई, नेपाली, सार्कीबीच ठूलो विभेद छ ।

यी दुई जातकाले खोने पानीको कुवा पनि छुट्टाछुट्टै छन् । विश्वकर्माले आफ्नो कुवा तल्लो जात भनिएकालाई छुन दिदैन् ।

यो पहिलेदेखि चलि आएको चलन रहेकाले दमाईहरुलाई कुवा छुन नदिने गरेको ओलानीकी अमृता विक बताउँछिन् ।

‘यस्तो चलन यहाँ पहिलेदेखि नै रहि आएको छ’, उनले भनिन्–‘हामीहरु तल्लो जातको कुवामा जाँदैनौं । उनीहरुलाई पनि हाम्रो कुवा छुन दिदैनौं ।’

ओलानीमा आफूलाई उच्च ठान्ने सुनार, विश्वकर्मा, चुनारा, सार्की लगायतकाले दमाई जातकालाई तल्लो स्तरमा राखेका छन् ।

विश्वकर्मा र दमाई जातबीच मागी विवाह हुने गरेको छैन यति मात्रै होईन दमाईका भान्सामा पाक्ने खाना विश्वकर्मालाई चल्दैन, कुँवा र भान्छा पनि दमाईलाई छुन दिदैंनन् ।

विश्वकर्माहरुका लागि बनाइएको कुवामा नेपालीहरुलाई प्रवेश गर्न र पानी भर्नका लागि रोक लगाइएको अमृताले बताइन् । उनले अगाडि थपिन्–‘विकहरुले पहिले नै दमाई जातकालाई कुवामा आउन नदिने नियम बनाए । त्यसैले उनीहरु आउन पाउँदैनन् ।’

गोदावरीको ओलानीमा दलित र गैरदलित दुवै समुदायको बसोबास रहेको छ । तर, बाहुल्यता दलितहरुकै रहेको छ । सुरुमा पानीका लागि झगडा हुन थालेपछि गैरदलित, दलितका लागि छुट्टाछुट्टै कुवा बनाइयो । तर, विश्वकर्मा र दमाई जातका दलित आफै पनि मिल्न सकेनन् ।

उनीहरुबीच नै छुवाछुत हुन थालेपछि दमाई जातका दलितको लागि छुट्टै कुवा बनाइएको हो । आफूहरुलाई दमाई भन्दै विश्वकर्मा जातकाले कुवा छुन नदिने गरेको सीता नेपालीले बताइन् ।

उनले अगाडि थपिन्–‘पहिलेदेखि नै विश्वकर्मा र दमाई जातकाबीच रहेको विभेद अहिलेसम्म पनि कायम छ ।’

ओलानीको छुट्टाछुट्टै ठाउँमा बनाइएको कुवामा विक र नेपालीको कुवा भनेर लेखिएका छन् । विकको कुवामा सार्की, चुनारा, सुनार, कोली, भुल लगायतकाले भने पानी खान पाउने गरेको बताइएको छ ।

दलितभित्रको आन्तरिक विभेद निर्मूल नगरी उच्च जातिबाट हुने विभेद अन्त्य गर्न नसक्ने कविता विकल बताइन् । ‘हामीले यसबारे समूह मार्फत पटक–पटक छलफल चलाएका छौं’, उनले भनिन्–‘तर, बुढापाकाले मानेका छैनन् ।’

उनले दलितभित्रको आन्तरिक सहित सबै खाले विभेद अन्त्य गर्न आवश्यक रहेको बताईन् । गोदावरी नगरपालिकाको वडा नम्बर ११ र १२ मा जातीय छुवाछुत र दलितभित्रै आन्तरिक छुवाछुत कायम रहेको नगरपालिकाका न्यायिक समितिका संयोजक एवम् उपप्रमुख रत्ना कडायतले बताइन् ।

उनले छुवाछुत विरुद्ध सचेतना अभिवृद्धिका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने बताईन् ।  ‘अस्ती घटेको घटना मैले पनि थाहा पाएँ । वडा नम्बर ११ र १२ मा यस्तो विभेद कायम रहेको छ ।’ यसको विरुद्धमा योजनाबद्ध रुपले अगाडि बढ्ने नगरपालिकाले कार्यक्रम बनाएको उप–प्रमुख कडायतले भनिन् ।