‘देवता बाहिरा छाउपडी भित्र’
अछाम ५ जेठ । छाउपडी कुप्रथा मान्ने प्रचलनका करण अछाम जिल्ला निकै बदनामीत छ । महिला महिनाबारी भएको बेला घरबाट छुट्टै टाढा निर्माण गरिएका साना साना गोठहरुमा बस्नुपर्ने सामाजिक कुप्रथाका कारण महिलाहरु जोखिममा रहेका छन् ।
पछिल्लो १० वर्षको तथ्यंक अनुसार महिनाबारी भएका बेला छाउगोठमा बसेकै कारण १० जना महिला तथा किशोरीहरुले ज्यान गुमाउनु परेको दुःखद घटना छ ।
यसैलाई मध्यनजर गर्दै अछाम सहित प्रदेश नम्वर ७ र कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा छाउपडी प्रथा बिरुद्धका अभियानहरु सञ्चालनमा रहेका छन् ।
बिभिन्न स्थानीय तहहरुले पनि छाउपडी प्रथा लगायतका सामाजिक कुप्रथाका बिरुद्ध अभियान सञ्चालन गरेका छन् ।
अछामको रामारोशन गाउँपालिकाले भने छाउपडी प्रथा बिरुद्ध फरक र नयाँ अभियान सञ्चालन गरेको छ । अछामका अन्य स्थानीय तह भन्दा छाउपडी प्रथा र जातिय छुवाछुत मान्ने प्रचलन एकदमै न्यून रहेको यस गाउँपालिकामा छाउपडी प्रथालाई पूर्ण रुपमा हटाउन गाउँपालिकाले ‘देवता बाहीर छाउपडी भीत्र’ अभियान सञ्चालन गरेको छ ।
धेरैजसो महिलाहरु छाउ भएका बेलामा पनि घरमै बस्ने गरेको भएपनि सबैजसो वडामा देबी देवताका माण्डा भएका घरहरुमा भने गोठमै बस्ने गरेको पाईएकोले यस्तो अभियान चलाईएको गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताए ।
उनले भने ‘गाउँपालिकाले सुक्ष्म अध्ययन गर्दा महिला छाउ भएका बेला गोठमा बस्नुको मुल कारण घरमा राखिएका देवी देवताका माण्डा नै भएकाले तिनलाई ब्यावस्थापन गर्न बाहिर साना साना मन्दिर बनाउने र महिला छाउ भएका बेलामा घरमै बस्ने ब्यावस्था गर्न यो अभियान चलाएका हौं ।’
घरमा भएका देवता र देवीलाई छुट्टै सानो मन्दिर बनाएर राख्न पाएमा महिला महिनावारी भएका बेला पनि घरमै बसाल्ने कुरामा स्थानीय बासी सहमत रहेको अध्यक्ष साउदले बताए ।
गाउँपालिकाले हालसम्म गरेको अध्ययन अनुसार रामारोशनका ७ वटै वडामा न्यूनतम ३० देखी ५० सम्म देवी देवताका माण्डा घरमा राखिएको पाईएकाले सो देवताकोलागि बाहिर मन्दिर बनाउन आर्थिक वर्ष ०७५÷०७६ मा बजेट बिनियोजन गरिने बताए ।
‘देवी देवताको लागि ३० हजार बराबरको लागतमा एउटै डिजाईनका ३५० वटा सम्म मन्दिर गाउँपालिकामा निमार्ण गर्ने योजना छ ।’
गाउँपालिका अध्यक्ष साउदले भने ‘यसबाट छाउपडी समस्या समाधान मात्रै हुने नभई पर्यटन प्रर्बद्धनको पनि विकास हुनेछ ।’













