पूर्व जनमुक्ति सेनाको लाल जोडी : ब्यावसायमा सफलता

अछाम, ४ जेठ । पर्यटकिय क्षेत्र रामारोशनको प्रवेशद्धार मुजाबरको बिच बजारमा श्रृजना बुढा र लाल बहादुर बुढा (प्रकाश) होटेल व्यवसायी गर्दै आएका छन् । श्रृजना भान्सामै ब्यस्त हुन्छन भने लालबहादुर भाडाकुडा सफा गर्न र आएका ग्राहकलाई खाना खुवाउनमै । उनीहरुको दैनिकी यसरी नै चलेको छ ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सहभागी भएर बिभिन्न लडाई लड्दै शान्ति प्रक्रिया पछि घर भेटमा आएर ब्यावसायिक बनेको यो जोडी सबैका लागि उदाहरण बनेका छन् ।

२० हजारबाट ब्यावसाय सुरु गरेको लाल जोडीले वार्षिक करोडको हाराहारीमा सम्मको कमाउने गरेको बताउछन् लालबहादुर बुढा ।
त्यस्तै श्रृजना भन्छिन ‘सुरुमा ब्यापार गर्नलाई ऋण खोज्दा पनि कसैले पत्याउदैन थिए । हाम्रो मेहनत देखेर अहिले सबैको स्याबसीको पत्र बनेका छौं ।’ २ वर्ष सम्म टिनको खोकामा भाडा तिरेर नास्ता पसल गरेका हौं, अहिले मुजाबगरमै २५÷३० लाखको लागतमा आफ्नै घर बनाई होटेल सञ्चालन गरिरहेका छौं । सृजनाले भनिन् ।

उनले मेहनत र श्रमको फल छोरा छोरीलाई राम्रै बिद्यालयमा पढाउन पाउदा खुशी भएको बताईन् । श्रीमान श्रीमती दुबै जना जनमुक्ति सेनामा कार्यरत थिए । घरभेटमा आएर पुनः नफर्किएको कारण सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित भएको बुढाले बताईन् ।


लाल बहादुर भन्छन ‘सरकारी राहत रकम नपाए के भो त, यसमा कुनै गुनासो छैन । समयमा मेहनत गरयो यसमै खुसी छौं ।’ उनले थपे ‘संघर्ष गर्ने पुरानै बानीले हामी ब्यावसायमा जम्न सकेका हौं ।’ अहिले उनीहरुको होटेलमा दैनीक २० देखी ३० जना ग्राहकहरु नियमित खाना खान्छन् । आफूहरुको ग्राहकलाई गर्ने ब्यावहार र सेवाका कारण खाना, नास्ता र किरानाका लागि आउने ग्राहकको भीड लाग्ने गरेको बताउछन् ।

पूर्व हेटौंडामा जन्मेर माओवादी जनयूद्धमा जनमुक्ति सेनामा संघर्षपूर्ण लडाई लडेकी श्रृजना अछामको बिकट बस्तिमा रहेको परिबेश संग घुलमिल भएर स्थापित हुन निकै संघर्ष गर्नुपरेको बताउछिन ।
श्रम गर्नेहरुका लागि कुनैपनि काम सानोे ठूलो नहुने श्रृजना र लालबहादुरको भनाई छ । कामको जिम्मेवारी बाराबर रहेको बताए ।