एमाले-माओवादी एकता : केन्द्रीय सदस्यमा कति आउँलान थारू ?
कैलाली, ४ जेठ । माओवादी केन्द्र एमाले बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा पछि ४ सय ४१ केन्द्रीय सदस्य छानिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरे । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो ।
करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए ।
तर आज ४ सय ४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । जस मध्ये कति थारु नेता के.स.मा पर्लान भन्ने हेर्न बाँकी छ ।
पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भनेको ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राखेका थिए ।
सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवार पूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताए ।
नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिएको बताए । उनले पार्टी हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिए ।
गत असोज १७ गते दुई पार्टी बीच छ बुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्र मार्फत दुवै दल अगाडि बढेका थिए ।
दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासन समेत मनन योग्य रहेको नेता नेपालको भनाइ थियो ।
उनले दुई पार्टी विधिवत् एकीकरण भई निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताए ।
समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।
जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४ सय ४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गरे ।
के भन्छन् जनजाति र मधेसी नेताहरु ?
जनजाति र मधेसका मुद्दा उठाउँदै आएका नेताहरु भने पार्टी एकता गर्दा एमाले र माओवादीले सम्झौता गरे जस्तै आफूहरुले पनि सम्झौता गरेको बताउँछन् ।
उनीहरुसँग त्यसको विकल्प रहेन । एक नेता भन्छन्, ‘खुसी भए पनि नभएपनि जानै पर्यो । हामीसँग अरु उपाय भएन । आफैं पार्टी चलाउन सकिएन ।’
नेता पासाङ शेर्पाले राज्यसत्ता संचालनमा भूमिका नराख्ने दलले चर्को आवाज गर्नुभन्दा राज्यसत्तामै भूमिका राख्न सक्ने पार्टीमा थोरै भए पनि कुरा उठाउनु अर्थपूर्ण हुने बताउँछन् । उनले भने ‘जुन मुद्दाको धरातलमा उभिएर एमाले छाडिएको थियो, त्यसबेला पनि हाम्रो नियत गलत थिएन । राम्रै नियतले छोडियो तर, हामीले जे प्रयोग गर्न खोज्यौं, त्यो असफल भयो ।’
नेताहरुका अनुसार प्रचण्डले पनि हतास नहुन भन्दै जनजाति र मधेसका नेताहरुलाई ढाडस दिने गरेका छन् । आन्तरिक छलफलहरुमा उनले भन्ने गरेका छन्न् (हामी पनि छौं, एमालेमा पनि राम्रा साथीहरु छन् । आन्दोलनको निरन्तरता हो ।’
अर्का नेता रामचन्द्र झा पनि तत्कालिन (माओवादी) पार्टी नेतृत्वले मुद्दा नछोड्ने बचन दिएको बताउँछन् । उनले भने (राजनीतिक दस्तावेजमा बहस भएको छैन । एकीकृत पार्टीमा बहस होला । त्यसबेला हामी आफ्ना कुरा राख्छौं ।’
उनी नेतृत्व थोरै विनम्रताका साथ प्रस्तुत भयो समाधान टाढा नरहेको बताउँछन् । झाले भने (६ वटा प्रदेशमा वाम गठबन्धनलाई अप्ठ्यारो भएन तर, २ नम्बरमा त भयो । कोर्स करेक्सन गर्नु भएन भने त्यो अप्ठ्यारो रहिरहन्छ ।’
प्रदेश २ रणनीतिक महत्वको क्षेत्र समेत भएकाले नेकपाको नेतृत्वले मधेसको मुद्दाहरुलाई पनि सम्बोधन गरेर नै अघि बढ्नु उपयुक्त हुने उनको धारणा छ ।













