आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रदेशको सम्बृद्धिलाई प्रथामिकता दिने

कैलाली, ४ जेठ । बुधवारको प्रदेश सभा बैठकमा अर्थमन्त्री झपट बोहराले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटका सिद्धान्त, उदेश्य, प्राथमिकता र नीतिकारे जानकारी गराउदै बजेटको पूर्व (प्रि) छलफलका लागि संसदमा प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताबमा आज बसेको प्रदेश सभा बैठकमा बजेटको पूर्व छलफलमा प्रदेश सभा सदस्यले आ–आफ्नो धारणा राखेका थिए । काँग्रेसका प्रदेश सभा सदस्य डिल्लीराज पन्तले प्रदेशको आर्थिक विकाशमा केन्द्रित बजेट ल्याउन सुझाव दिए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका सासद महेशदत्त जोशीले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक सम्बृद्धि हासिल गर्नतर्फ बजेट केन्द्रित गर्न माग राखेका थिए ।

नेपाली काँग्रेसका सांसद गोविन्दराज बोहराले चालु आर्थिक वर्षका लागि ल्याईएको अल्पकालिन बजेटको कार्यान्वयनबारे प्रश्न गरेका थिए । उनले कार्यान्वयनको अवस्था जानकारी गराउन समेत माग गरे । बोहराले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा जोड दिदै प्रदेशको सम्वृद्धिको आधार तय गर्ने कुरालाई प्राथमिकतामा राख्न सुझाव दिए ।

नेपाल कम्युनिष्ट पार्टीका सासद लिलाधर भट्टले बजेट ल्याउनु अघि विज्ञ समहु, प्रतिपक्षी दल र प्रदेश सभाका सांसदसंग बृहत छलफल गर्दै बजेट निर्माण गर्न आग्रह गरे ।

आजको प्रदेश सभा बैठकले विभिनन विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जस अनुसार जेठ १३ र १४ गते निर्वाचनको मिति तोकिएको छ ।