एमाले र माओवादी केन्द्र बिच पार्टी एकता

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (विहिबार) बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहना बमोजिम २ पार्टीको बीचमा एकता भएको बताएका छन् ।

उनले टुटफुटको विगतको इतिहासलाई आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराए ।

अध्यक्ष ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन भएका प्रयासका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिन एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गरेका छन् । संघीय संसद, प्रदेश, स्थानीयतहमासमेत वामशक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले २ ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमासमेत खुशीको सञ्चार भएको बताए ।

उनले एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने र तत्कालीन कार्यक्रमका रुपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई अंगिकार गर्ने सहमति भएको जानकारी दिए ।

एमाले र माओवादी केन्द्रको एकतापछि ९ सदस्यीय हेडक्वार्टर बन्ने भएको छ । एकता संयोजन समितिमा रहेका ८ जना र थप १ सदस्य रहने गरी सो व्यवस्था गरिएको छ । यस्तै, पार्टी एकताका बारेमा माओवादी केन्द्रको सचिवालयको बैठकमा अध्यक्ष दाहालले पार्टी एकताको विषयमा जानकारी गराएका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा एकताका बारेमा जानकारी गराइएको थियो । बैठकमा स्थायी समिति र केन्द्रीय समितिमा रहने सदस्यका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी केन्द्रको संयुक्त केन्द्रीय समितिको बैठक बसेको छ । बैठकमा एकता प्रक्रियाका बारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले जानकारी गराउने कार्यक्रम रहेको छ ।

सो बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइने सचिव भट्टराईले बताएका छन् । दुबै पार्टीले आज मात्रै एकता प्रक्रियालाई अन्तिम रुप दिने निर्णय गरेका छन् ।