प्रदेश ७ मा रहेका खप्तड लगायतका पर्यटकीय क्षेत्रलाई लक्षितगरि टुर प्याकेज ल्याउन जरुरी

कैलाली, ३ जेठ । प्राकृतिकरूपमा अनुपम भएपनि पर्यटकहरूको प्राथमिकतामा नपरेको खप्तड क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन व्यवसायीहरूले खप्तड यात्रा शुरु गरेका छन् ।

खप्डत क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रद्र्धनका लागि सो यात्रा शुरु गरिएको हो । काठमाडौंबाट आएको पर्यटन व्यवसायीहरूको मुख्य संस्था सोट्टो नेपालको आयोजनामा खप्तड यात्रा धनगढीबाट शुरु भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहितको १४ सदस्यीय टोलीलाई प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले बिहीबार खप्तड यात्राका लागि विदाई गरे ।

संसद भवनमा आयोजित कार्यक्रममा सभामुख थापाले नेपालको झण्डा हस्तान्तरण गर्दै माला लगाएर खप्तड यात्रीलाई विदाइ गरेका हुन् । उपसभामुख निर्मला जोशीले सहभागीलाई टिका लगाई विदाई गरेकी थिइन् । कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाले कैलाली भ्रमण वर्षको पुस्तक सहभागीलाई उपहार दिएका थिए ।

खप्तड यात्रीलाई बिदाई गर्दे सभामुख थापाले खप्तडको पर्याप्त प्रचार हुन नसकेको बताउँदै खप्तडको प्रचारप्रसार गरेर पर्यटक ल्याउने पहल हुनु सह्रनीय काम भएको थापाले चर्चा गरे ।

शुक्लाफाँटा, नालापानी र खप्तड आन्तरिक पर्यटन प्रवद्र्धन यात्राका संयोजक यमबहादुर खड्काले चाँडै भारतका उत्तरखण्ड र पश्चिम नेपालका खप्तड लगायतका पर्यटकीय क्षेत्रलाई लक्षित गरेर टुर प्याकेज बनाउने जानकारी दिए । विदाई कार्यक्रममा प्रदेश सातका संसद सदस्यहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।