कुकुरले गर्छ घरेलु हिंसाको जोखिममा परेका महिलाको जीवन रक्षा
स्पेनमा घरेलु हिंसा ठूलो समस्या बन्दै गइरहेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क संस्था (आईएनई) का अनुसार प्रत्यक महिना करिब चार जना महिला उनीहरुको पुरुष ‘साथीहरुबाट’ मारिन्छन् ।
घरेलु हिंसा न्यूनीकरण गर्न शुरु गरिएका अनगिन्ती अभियान र सरकारी प्रावधानको बाबजुद पनि यो समस्या विकराल रुपमा रहेको छ । धेरै महिलाहरु अझै पनि उनीहरुलाई दुर्व्यवहार गर्ने पूर्व पे्रमीको त्रासमा बाँचिरहेका छन् ।
यो समस्यासँग जुध्न एउटा परोपकारी संस्थाले महिलालाई विशेष तालिम प्राप्त कुकुरहरु दिने गरेको छ । ती कुकुरहरुले महिलामाथि हिंसा र दुर्व्यवहार गर्ने साथीहरुबाट बच्न सघाउने गरेका छन् । ती कुकुरहरुले घरेलु हिंसाको जोखिममा परेका महिलाको जीवन रक्षामा मद्दत गरिरहेका छन् ।
‘म सन् २०१३ देखि घरेलु हिंसाको शिकार भएकी छु । मैले एउटा क्रुर हमाला पनि भोगेकी छु । त्यो घटनामा म झण्डै मरेकी थिएँ । त्यस बेलादेखि मेरो जीवन बचाउन म संघर्षरत छु किनभने त्यो पीडक मलाई हमला गर्न कुनैपनि बेला आउन सक्छ’ गेमा अबादले बीबीसीसँग भनिन् ।
उनले थपिन्, ‘म जस्तो घरेलु हिंसाको उच्च जोखिममा परेकाको जीवनलाई युद्धमा होमिएको सिपाहीसँग दाँज्छु । म जस्ताको लागि सुरक्षित रहन सक्ने ठाउँ ज्यादै सानो छ तर आफू जोखिममा पर्न सक्ने ठाउँ भने ठूलो छ । ठूला शहर र विश्वको कुनैपनि ठाउँमा आफू हमलामा पर्ने संभावना हुन्छ ।’

उक्त संस्थाले जोखिममा परेका महिलाको सुरक्षामा तालिम प्राप्त कुकुरहरु खटाएका छन् । महिलाले यो सेवा लिए बापत कुनै शुल्क तिर्नु पर्दैन । अहिलेसम्म ४० जना महिला यो कार्यक्रममा सहभागी भएका छन् ।
‘हामी ती कुकुरहरुलाई हिंसात्मक गतिविधि वा हमला कसरी रोक्ने भनेर तालिम दिन्छौं । हामी महिलालाई पनि त्यस्ता परिस्थितीको कसरी समाना गर्ने र प्रतिकार गरेर कसरी जोगिने भन्ने तौरतरिका सिकाउँछौं’ उक्त संस्थाका एक प्रतिनिधिले बताए ।
‘म एकदम नयाँ व्यक्ति बनेकी छु । यदि तपाईंले तीन वर्ष अघि मलाई रङ्गशालामा एउटा फुटबल प्रतियोगितामा भाग लिने एउटा पक्षको चार हजार प्रशंसकहरुको समना गर्न सक्नुहुन्छ भनेर सोधेको भए मैले बिल्कुलै सक्दिन भन्थें होला । कसैले पनि आफूमाथि हमला गर्न सक्दैन भन्ने थाहा पाउनु एकदमै राम्रो अनुभूति हो’, अमेरिका गलोनले भनिन् ।
उनी सुरक्षा कार्यक्रममा दुई वर्ष अगाडि सहभागी हुन थालिन् । अहिले उनी रियल म्याड्रिड रङ्कशालाको सुरक्षार्थ खटाईएका कुकुरहरुको इकाईको नेतृत्व गर्छिन् ।
‘म घरबाट बेलुकी पाँच बजे निस्कें भने मलाई हमला गर्ने व्यक्ति त्यहाँ हुनसक्छ । एक दिन यसरी निस्किंदा मैले अनौठो तर सुखद अनुभव गरे । मेरो कुकुर मसँगै थियो । आक्रमण गर्ने व्यक्ति ढोका बाहिर मलाई कुरेर बसेको थियो । उसले मलाई देख्यो, फरक्क फर्कियो र त्यो ठाउँ छोडेर हिंड्यो किनभने म अहिले उ भन्दा बलियो छु’, हिंसा पीडित गेमाले भनिन् ।
साभार : बीबीसी













