आँधीहुरीबाट कैलालीमा १ जनाको मृत्यू, लाखौ क्षति
कैलाली, ३१ बैशाख । आईतवार राति आएको भिषण हावाहुरीले कैलालीमा एक जनाको ज्यान गएको छ भने लाखौको क्षति भएको छ ।
आईतबार राति साढे नौ बजे आएको हावाहुरीले गौरीगंगा नगरपालिका वडा नम्बर १ का ५६ सारुमणी बुढाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हावाहुरीले घरको धुरी खस्दा गौरीगंगा नगरपालिका वडा नम्बर १ का ५६ सारुमणी बुढाको घर भित्रै मृत्यु भएको छ । यता कैलारी गाँउपालिका वडा नम्बर ४ हसुलियामा ईटा लागेर ४० वर्षिया शोभा चौधरी घाईते भएकी छन् । घरभित्रै रहेकी चौधरी घरको टीन उडेर ईटा खस्दा घाईते भएकी हुन् ।

आईतवार राति नै गोदावरी नगरपालिका वडा नम्बर १ भालुखोला भुवन शाहको घर आगलागी हुदा जलेर पूर्ण रुपमा क्षति भएको छ ।
हावाहुरीले धनगढीस्थित धनगढी एफएमको टावर र एन्टेनामा क्षति हुदा प्रशारण अवरुद्ध भएको छ । भने धनगढी क्याम्पस रोड स्थित बन्द अवस्थामा रहेको जनआवाज एफएफमको टावर ढलेको छ ।
हावाहुरीले कैलालीमा दर्जनौ घरहरुमा क्षति पुगेको छ । थुप्रै ठाउमा बिजुलीका पोलहरु ढलेका कारण आईतवार रातिदेखि बिद्युत अवरुद्ध भएको छ । आज दिनभरी पनि धनगढीमा विद्युत आपूर्ति हुने संभावना छैन । धनगढी विद्युतको पोल ढलेर उपमहानगरपालिका—८ धनगढी गाँउ जाने अबरुद्ध छ ।

जोशीपुर गाँउपालिकाको जोशीपुरमा रहेको ईलाका प्रहरी कार्यालयमा सिमलको रुख ढलेर खस्दा प्रहरीहरु विस्थापित भएर सशस्त्र प्रहरी बलको कार्यालयमा बसिरहेका छन् । यद्दपि कोही घाईते भने भएका छैनन ।
हावाहुरीका क्रममा घरमा आगलागी हुदा गौरीगंगा नगरपालिका वडा नम्बर १ गोप्कामा दानसिंह बोहराको रांगा जलेर मृत्यु भएको छ भने लुगाकपडा र अन्नपात जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आँधीहुरीबाट भारतमा ४८ जनाको मृत्यु, तीन दिनसम्मका लागि अलर्ट जारी
भारतमा आइतवार बेलुका तीब्र गतिमा चलेको तुफानका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । ५० जनाभन्दा बढी घाइते छन् ।
उत्तर प्रदेशमा सबैभन्दा धेरै १८ को मृत्यु भएको छ भने पश्चिम बंगालमा १२, आन्ध्र प्रदेशमा नौ, तेलंगनामा तीन, गुजरातमा चारको मृत्यु भएको छ । राजधानी दिल्लीमा १ सय ९ किलोमिटरको गतीमा आँधी आएको छ । जसले दिल्लीका विभिन्न स्थानमा दुईको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।
आइतबारको आँधी हुरी अघि मौसम विभागले सटिक अलर्ट जारी गरेको थियो । मौसम विभागले तीन दिनसम्मका लागि अलर्ट जारी गरेको छ । मानिसहरुलाई आफ्नो घरभित्र वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी हुरीका कारण मानिसहरुको मृत्युमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘देशका केही भागमा आँधीका कारण भएको जनधनको क्षतीका कारण दुःखी छु । प्रभावित परिवारप्रति संवेदना । म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अधिकारीलाई प्रभावित व्यक्तिहरुको हरसम्भव मद्दत गर्नका लागि आग्रह गरिएको छ ।’













