जनजातीको मुद्दा पहिचान गर्न पत्रकारको भूमिका
कैलाली, ३० वैशाख । आदिबासी जनजातिको मुद्दा र सवाल पहिचानमा मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा बताइएको छ ।
कैलारी गाउँपालिका वडा नं. ७ रतनपुरमा शनिबार नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र थारु पत्रकारसंघ नेपाल कैलालीद्वारा आयोजित मिडियामा आदिबासी जनजातिहरुको सवाल र मुद्दा पहिचान विषयक कार्यशालामा सो कुरा बताएको हुन् ।
आदिबासी जनजातिको सवाल केही नयाँ संविधानले सम्बोधन गरेपनि अधिकांश मुद्दा अझै सुसुप्त अवस्थामा रहेकाले त्यसको सम्बोधनकालागि पत्रकारले नै विषय उठान गर्नुपर्ने सुझाव दिएका थिए ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी (अंकित) ले गाउँपालिकाभित्र ९८ प्रतिशत थारु समुदायको बसोबास भएकाले थारुकै अधिकार सम्बोधनकालागि आवश्यक नीति नियम बनाएर अघि बढ्ने तयारी भइरहेको बताउनुभयो । कैलारी गाउँपालिकाकालाई नमूना गाउँपालिका बनाउनेगरी काम भइरहेकाले मिडियालाई सहयोग गर्न उनले आग्रह गरे ।
कतिपय विषय हामीले थाहा पाउँदैनौं, जनताले चाहेको विषयका बारेमा मिडियाले सार्वजनिक गरेर आफूहरुलाई घच्घच्याउने भूमिका निर्वाह गरिदिए विकास निर्माणमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गर्नुभयो । समाजमा काम गर्दैजाँदा राम्रो काम गर्दा पनि आलोचना हुने र नराम्रो काम गर्दा पनि आलोचना हुने प्रबृत्ति रहेकाले सही विषयका बारेमा मिडियाले जनप्रतिनिहिरुलाई दवावको काम गर्नुपर्ने बताए ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष लक्की चौधरीले आदिबासी जनजातिको सवालमा पहिले पत्रकार नै जानकार हुनुपर्ने बताए । पत्रकारले आदिबासीको सवाल नबुझ्दासम्म मिडियामा उठान गर्न नसक्ने भन्दै उहाँले पत्रकारलाई जनताको समिपमा रहेर काम गर्न आग्रह गरे ।
जनप्रतिनिधिले गर्ने कामहरु बढीभन्दावढी जनतामुखी र जनमैत्री हुन अनिवार्य रहेको भन्दै स्थानीयस्तरको समस्या र सवाल उठानगरी त्यसको सम्बोधनमा प्रेसरको काम मिडियाकर्मीले गर्नुपर्ने उनले बताए । नयाँ संविधानले केही सवालहरु सबैको सम्बोधन गरे पनि अझै धेरै सवाल सम्बोधन गर्न बाँकी रहेकाले मिडियाकर्मीले ती मुद्दाका बारेमा पहिचान गर्न उनले आग्रह गरे ।
फोनिज कैलालीका अध्यक्ष लखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश ७ का उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद चौधरी लगायतले आदिबासीको अधिकार सम्बोधनमा आदिबासी मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा पाँचजनाले कार्यपत्र प्रस्तुत गर्दै थारु आदिबासीको सवाल र मुद्दा सम्बोधनका विषयको उठान गरे । कार्यक्रममा पत्रकार लक्की चौधरी, अधिवक्ता जोहारीलाल चौधरी, अधिकारकर्मी दिलबहादुर चौधरी, पत्रकार गणेश चौधरी, इन्दू चौधरीले आदिबासी सवाल र मिडियाको भूमिकाको विषयमा चर्चा गरे ।
कार्यक्रममा थारु अगुवा बुन्दीलाल चौधरी, फोनिज कैलालीका पूर्व अध्यक्ष अनत चौधरी, पहुरा दैनिकका कार्यकारी सम्पादक प्रेम चौधरी, पत्रकार उन्नति चौधरी लगायतले समेत पत्रकारिता र भूमिकाका विषयमा धारणा व्याक्त गरे ।













