डेढ करोडको लागतमा प्रति घण्टा १७ क्वीन्टल उत्पादन क्षमता भएको पोस्ट हार्वेस्ट सेन्टर स्थापना

धनगढी, २६ वैशाख । नेपाल सरकार र स्थानीय किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको संयुक्त साझेदारीमा बीज अन्नबाली बृद्धि कार्यक्रम अन्तरगत डेढ करोडको लागतमा पोष्ट हावेस्ट सेन्टर स्थापना भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ सो सेन्टर स्थापना भएको हो । प्रदेश ७ की भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले आज (बुधबार) एक कार्यक्रमको बीच उद्घाटन गर्दै सहकारीको १० कठ्ठा क्षेत्रफलमा ८० प्रतिशत सरकार र बाँकी सहकारी संस्थाको लगानीमा कार्यक्रम अन्तरगत पोस्ट हार्वेस्ट सेन्टर स्थापना गरिएको बताईन् ।

त्यसै गरि सहकारीको अध्यक्ष शंकरबहादुर केसीले हार्वेस्ट सेन्टर अन्तरगत थ्रेसिङ फ्लोर, गार्ड हाउस, गोदाम घर, ओपन सेट, मेशिनरी भवन, सभा कक्ष निर्माणसहितको कार्यालय भवन निर्माण गरिएको बताए । उनले एक सय केभीको ट्रान्सफार्मर जडान गरिएको जानकारी दिए ।

कार्यक्रम अन्रगत २३ लाखको लागतमा हार्वेस्ट सेन्टरको लागि मसिनरी औजार खरिद गरिएको छ । जसमा सरकार र सहकारीको ५०/५० प्रतिशत लगानी रहेको अध्यक्ष केसीले बताए ।

प्रति घण्टा १७ क्वीन्टल उत्पादन क्षमता रहेको उक्त हार्वेष्ट सेन्टरबाट धान, गहुँ, मकै, मसुरो, तोरीको ग्रडिङ तथा हार्वेष्टीङ हुँदै आएको छ ।

एक सय तीन जना शेयर सदस्य रहेको सहकारीले उक्त क्षेत्रमा विभिन्न अन्नबालीको उन्नत बीउ उत्पादन गरी बिक्रि वितरण गर्दै आएको छ । सहकारीका सदस्य तथा किसानलाई मूल बीउ वितरण गरी उन्नत बीउ उत्पादन गराई बजारीकरण गराउँदै आएको छ । जसबाट कञ्चनपुर र कैलालीको दक्षिणी क्षेत्रका किसानहरु लाभान्वित भएको जनाइएको छ ।