पत्रकार सम्मेलनमै प्रहरी दमन, गिरफ्तार सबैलाई तत्काल रिहा नगरे कडा संघर्ष

काठमाडौं, २५ बैशाख । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव गोकुल दाहालले महासंघका अध्यक्ष अमर झाँक्रीसहित ११ जना केन्द्रीय नेताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

मंगलबार दिउँसो १ बजे राजधानीको अनमनगरस्थित संवाद डबलीमा महासंघको हालै पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समिति र त्यसबाट लिइएको निर्णय सार्वजनिक गर्न महासंघ केन्द्रद्वारा आयोजित पत्रकार सम्मेलनलगत्तै अध्यक्ष झाँक्रीसहित ११ जनालाई सिंहदरबारबाट खटिएका भनिएका सादा पोशाकधारी प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको थियो ।

गिरफ्तार सबैलाई हाल महानगरीय सिंहदरबार वृत्तमा राखिएको छ । गिरफ्तार गर्नुको कारणबारे प्रहरीले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । शान्तिपूर्ण आन्दोलनमा र सम्मेलन, भेलामा सहभागी भइरहेका मजदुर नेताहरुलाई हस्तक्षेप गरी गिरफ्तार गरेर सरकारले संविधानको धज्जी उडाउने काम गरेको महासचिव दाहालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनेका छन् ।

शान्तिपूर्ण भेला, सम्मेलन, संगठन विस्तार गर्ने र राजनीतिक विचार राख्न पाउने स्वतन्त्रताको ग्यारेन्टी उनीहरुकै जारी गरेका संविधानमा व्यवस्था भएपनि वर्तमान सामाजिक दलाल सरकारले उक्त संवैधानिक व्यवस्थाको धज्जी उडाँउदै गरेको गिरफ्तारी एवं हिरासतमा कार्यको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

‘गिरफ्तार गरिएका केन्द्रीय अध्यक्ष अमर झाँक्रीलगायत सबै कमरेडहरुलाई बिना सर्त यथाशीघ्र रिहा गर्न जोडदार माग गर्दछौं’ दाहालले भनेका छन् । सरकारले अपरहण शैलीमा नेताहरुलाई गिरफ्तार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा नगरिए प्रतिरोधी संघर्ष चलाउन बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।

पत्रकार सम्मेलनस्थल संवाद डबलीहातभित्रबाट महासंघका केन्द्रीय अध्यक्ष अमर झाक्री, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एल। वि। बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाहसहित ११ जनालाई पक्राउ गरेको छ ।