आदिवासीका साँस्कृतिक बाजा सिंहदरबारभित्र घन्किन्छः आदिवासी अगुवा

काठमाडौं, २४ बैशाख । आदिवासी जनजाति नेताहरूले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालका आदिवासी जनजातिहरूको सँस्कृतिमाथि गम्भीर प्रहार गरेको बताएका छन् ।

काठमाण्डौंको माईतिघर मण्डलामा विदा खारेजी विरुद्ध नेपाल आदिवासी जनजाति महासंघले गरेको बिरोध सभालाई सम्बोधन गर्दै, आदिवासी नेताहरूले सो कुरा बताएका हुन् ।

उनीहरुले नेपालका आदिवासीहरुलाई सरकारले हदैसम्मको अन्याय गरेको बताएका छन् । पूर्व आदिवासी जनजाति महासंघ अध्यक्ष पासाङ शेर्पाले बिदा कायम नगरिए सिंहदरबारभित्र साँस्कृतिक बाजा बजाउने चेतावनी दिए ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष योगराज लिम्बू वनेमले सरकारले आफ्नो चरित्र सच्याउनुपर्ने बताउदै बिदा कटौतीलाई अबिलम्ब फिर्ता लिनुपर्ने माग गरे । लिम्बूले प्रदेश नम्बर १ को नामाङ्करण गर्दा पहिचानलाई आधार नमाने जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।