खहरे खोलाले बगाउँदा श्रीमान श्रीमातिसहित पाँच जनाको मृत्यु
धनगढी, २३ बैशाख । खहरे खोलामा आएको बाढीले बगाउँदा ५ जना स्थानीयको मृत्यु भएको जनाइएको छ ।
जिल्लाको थलारा गाँउपालिका –४ मा खहरे खोलाले बगाउँदा श्रीमान श्रीमति सहित पाँच जनाको मृत्यु भएको हो । स्थानीय २७ वर्षीय हर्क बिक र उनकी श्रीमती २६ वर्षीया डल्ली बिकको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी खोलाले बगाउँदा १२ वर्षीय मनिसा विक र ३ वर्षीय सक्षम विक र ३५ वर्षीया कलसी बिकको पनि मृत्यु भएको छ । स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा गुह्या खोलाले उनीहरुलाई बगाएको हो ।
प्रहरीका अनुसार शनिबार राति ८ बजे तिर परेको अविरल वर्षाका कारण खहरे खोलामा बाढी आएको र पाँचै जनालाई खोलाले बगाएको थियो ।
यस अघि बुधबार राति ८ बजेतिर खोलामा आएको बाढीले जीप बगाउँदा चालकसहित तीन जनाको मृत्यु भएको थियो । चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीप चालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्दको घटनास्थलमै मृत्यु भएको थियो।













