छापामा आजः मोदीलाई सवा करोडको मञ्च, चार भाषामा अभिनन्दन

काठमाडौं, २३ वैशाख । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । केहीले राजनीतिक विषयलाई बढी स्पेश दिएका छन् भने कुनैको जोड आर्थिक, सामाजिकलगायतका विषयमा छ ।

राजनीतिक विषयमा आज आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने परेको छ । यो विषयलाई आजका दैनिक पत्रिकाहरुले विविध शीर्षक र उपशीर्षकमा समेटेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित पाँच पदाधिकारी पक्राउ परेकोलाई पनि आज पत्रपत्रिकाहरुले नछुटाइकन छापेका छन् । अत्यावश्यकीय सेवाका रुपमा लिइने यातायातलाई अबरुद्ध पारेको आरोपमा सरकारले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

गणेश थापाको एक दशक लामो फुटबल विरासत अन्त्य गर्दै कर्माछिरिङ शेर्पाको प्यानल अखिल नेपाल फुटबल संघमा विजयी भएको छ । आजका अखबारहरुले एन्फामा कर्माछिरिङको प्यानल विजयीलाई विशेष महत्त्व र स्थान दिएर लेखेका छन् ।

मोदीलाई सवा करोडको मञ्च, चार भाषामा अभिनन्दन

आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा। उपेन्द्र देवकोटाको मर्मस्पर्शी अनुभूतिलाई नागरिकले आज पहिलो पृष्ठमा स्थान दिएर छापेको छ । पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र परेको, बैठकस्थलबाटै व्यवसायी पक्राउ परेकोलगायतका समाचार पनि नागरिकको पहिलो पृष्ठमा अटाएका छन् ।

नागरिककै भित्री पृष्ठमा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तयारीबारेको समाचार छ । समाचार अनुसार, मोदीलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा नागरिक अभिनन्दन गरिनेछ । त्यसका लागि जनकपुरस्थित बाह्रबिघा मैदानमा एक करोड २६ लाख रुपैयाँ खर्च गरेर विशेष मञ्च निर्माण गरिँदैछ । मञ्च अगाडिको पन्डाल बनाउन बिहारको टेन्ट हाउसले ७८ लाख मागेको समाचारमा उल्लेख छ ।

फौजदारी अभियोगमा सांसदलाई ‘उन्मुक्ति’

कान्तिपुर दैनिकले आज ‘फौजदारी अभियोगमा सांसदलाई उन्मुक्ति’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार, हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबर्जस्ती करणीजस्ता गम्भीर फौजदारी अभियोग लागेर सांसद् पुर्पक्षका लागि थुनामा गए पनि अब सांसद पद निलम्बन नहुने भएको छ । अघिल्लो व्यवस्थापिका र संविधानसभाकालमा आपराधिक कार्य गरेर पुर्पक्षका लागि थुनामा जाने सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था रहेकोमा यसपटक उक्त नयाँ व्यवस्था गरिएको हो ।

कान्तिपुरमै त्रिभुवन विश्वविद्यालयले राजधानीमा बसेर राजनीति गर्ने एक सहप्राध्यापकको हाजिरी अनुमोदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर गराउन लागेको समाचार पनि छ । प्रधानमन्त्री एवं कुलपति ओलीको अध्इक्षतामा आइतबार बस्ने त्रिवि सभाको बैठकमा सहप्राध्यापक योगेन्द्रनारायण बडबरियाको हाजिरी अनुमोदन गर्न लागिएको समाचारमा उल्लेख छ ।

कान्तिपुरले स्रोतका हवाला दिँदै लेखेको छ– त्रिवि सभाले सिरहाको सूर्यनारायण–सत्यनारायण मरवैता क्याम्पसमा पढाउन छाडेर त्रिवि प्राध्यापक संघको राजनीति गर्ने बडबरियाको ६ सयभन्दा बढी दिनको हाजिरी अनुमोदन गर्न लागेको हो ।’

यातायातमा सिन्डिकेटको मनोबल ध्वस्त

‘यातायातमा सिन्डिकेटको मनोबल ध्वस्त’ शीर्षकमा मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले फौजदारी अभियोग लागे पनि सांसद् पद निलम्बित नहुनेदेखि लाखौं नेपालीको रोग पत्ता लगाउन अस्पतालहरु असफल हुँदै आएको समाचार छापेको छ । एन्फामा कर्माछिरिङको प्यानल विजयीलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा नै समेटेको छ ।

सुत्केरी बचाउन हेलिकोप्टर सेवा

राजधानीका सडकका बेथितिलाई तस्वीरमार्फत प्रस्तुत गरेको अन्नपूर्णले अन्य पत्रिकाहरुले जस्तै आपराधिक कार्यक्रमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुनेलाई महत्त्वका साथ आफ्नो पहिलो पृष्ठमा छापेको छ । ‘दाहालको चितवन टार्गेट’ शीर्षक दिएर अन्नपूर्णमै माओवादी अध्यक्ष प्रचण्डले २५ पटकभन्दा बढी आउजाउ गरेको समाचार छ । माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समय चितवनलाई ज्यादातर महत्त्व दिन थालेको समाचारको सार छ ।

अधिक रक्तस्राव भई सुत्केरीले कालमा ज्यानै गुमाउने अवस्था अन्त्य गर्न सरकारले निःशुल्क हेलिकोप्टर सेवा सञ्चालन गर्न लागेकोलाई अन्नपूर्णले एंकर बनाएको छ । समाचार अनुासर दक्षिण एसियामा सबैभन्दा धेरै सुत्केरीको ज्यान जाने मुलुकका रुपमा नेपाल रहेकाले त्यसलाई न्यूनीकरण गर्न हेलिकोप्टर खरिद गर्न लागिएको छ । अनलाईन खबरबाट