पत्रकार महासंघ प्रदेश नं. ७ को अध्यक्षमा शाह विजय

धनगढी, २२ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश नं. ७ मा भएको निर्वाचनमा अर्जुन शाह विजय भएका छन् ।

प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका तर्फबाट अध्यक्षमा सिफारिस भएका उम्मेदवार हरि जोशीलाई हराउदै अर्जुन शाहले अत्याधिक मत ल्याउँदै पराजित भएका हुन् ।

आज (शनिवार) भएको निर्वाचन मतपरिणाम अनुसार जम्मा खसेको ६६२ मत मध्ये ३७९ मत प्राप्त गरी शाह बिजयी भएका छन् । अर्का उम्मेदवार जोशीले २६१ मत प्राप्त गरेका छन् । त्यस्तै २२ मत बदर भएको सम्बन्धित जिल्ला शाखाको निर्वाचन समिति संयोजकहरुले बताएका छन् । सबैभन्दा वढी दार्चुलामा १९ मत बदर भएको जनाइएको छ ।

बिजयी भएका पत्रकार शाह कान्तिपुर दैनिकमा कार्यरत छन् । नेकपा एमालेनिकट मानिएको पत्रकार संगठन प्रेस चौतारीमा आवद्ध शाह चौतारीले आधिकारिक रूपमा अध्यक्षका उम्मेदवार बनाएका हरी जोशीविरूद्ध ‘बागी’ उम्मेवदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए । बागी उम्मेदवारी दिएको भन्दै चौतारीले शाहलाई ’कारबाही’ गरेको थियो ।

प्रदेश समितिको अन्य पदाधिकारीहरु भने सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समिति कैलाली संयोजक करुणाकर पाण्डेका अनुसार उपाध्यक्षमा दुर्गा प्रसाद भण्डारी, उपाध्यक्ष (महिला) मा चाँदनी आचार्य, महासचिवमा योगेश रावल, सचिव (खुल्ला) तर्फ करन ताम्राकार, सचिव (समावेशी) तर्फ प्रेम राम चुनारा, कोषाध्यक्षमा नरेन्द्र प्रसाद भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्य (खुला) मा अरुण प्रसाद भट्ट, गगन बहादुर ऐडी, पुष्पराज भट्ट, नरेन्द्र बहादुर रावल, बरुण पनेरु, शिवराज खत्री निर्वा्चित भएका छन् । त्यस्तै सदस्य (महिला) तर्फ राधिका कुमारी सापकोटा, सम्झना पाण्डे, सदस्य (दलित) तर्फ खडग कोली, सदस्य (आदिवासी जनजाति) तर्फ भीम बहादुर चौधरी, मुकेश टेंर्रा, सदस्य (मधेसी) तर्फ गम्भीर लाल उराव र सदस्य (अल्पसंख्यकरअपाङ्गता) तर्फ भोजराज रोस्यारा सर्वसम्मत निर्वा्चित भएको संयोजक पाण्डेले जनाए ।