ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्छाैंः रक्षा मन्त्री
कैलाली, २२ बैशाख । कैलाली भ्रमण बर्ष २०७५को उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेल पर्यटनलाई जनजिवनसंग जोड्न आवश्यक रहेको बताए ।
पर्यटकीय क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्ने लक्ष्य सहित आजदेखि सुरु भएको भ्रमण बर्षमा उनले सो कुरा बताएका हुन् । कैलालीमा रहेका सम्भावित पर्यटकिय क्षेत्रको विकासको लागि सबैले अ–आफ्नो ठाँउबाट लाग्नु पर्ने मन्त्रीको भनाई थियो ।
उनले कैलालीमा रहेका थारु समुदायको कला संस्कृति खानाका परिकारहरुसंगै ओझेलमा रहेका ऐतिहासिक क्षेत्रको प्रवद्र्धन गर्दै कैलालीलाई पर्यटकियमय बनाउन सबैको पहल हुन जरुरी रहेको बताए ।
प्रदेश नं. ७ को प्रवेशद्वार कर्णाली चिसापानीमा भ्रमण वर्षको विधिवत् उद्घाटन गरिएको हो । कैलालीको पर्यटनमा सघाउ पुगाउने लक्ष्यका साथ कैलाली जिल्ला समन्वय समिति र स्थानीय तहहरुको पहलमा भ्रमण वर्ष सुरु गरिएको हो ।
भ्रमण वर्षको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली आउने कार्यक्रम रहेपनि उनको व्यस्तताका कारण रक्षामन्त्रीे भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।
भ्रमण बर्षको उद्घाटन कार्यक्रममा पर्यटन मन्त्री रबिन्द्र अधिकारी, एमाले उपाध्यक्ष भिम रावल, माओबादी नेता लेखराज भट्ट, मुख्य मन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, प्रतिनिधि सभा सदस्य नारदमुखी राना लगायत जन निर्वाचित प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।













