बडिमालिका नगरपालिका वडा नं. ३ लाई छाउ गोठमुक्त घोषणा

बाजुरा, २२ बैशाख । बाजुराको बडिमालिका नगरपालिका वडा नं. ३ लाई पहिलो छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । यस वडालाई पहिलो वडाका रुपमा छाउगोठ मुक्त घोषणा गरिएको हो ।

बडिमालिका नगरपालिका महिलासंग उपप्रमुख कार्यक्रमको र बडिमालिका नगरपालिका वडा नम्मर ३ नम्बर वडाको विशेष पहलमा वडालार्ई छाउगोठ मुक्त घोषणा गरिएको वडा अध्यक्ष बीरबहादुर रावलले जानकारी दिए । करिब ३०० घरधुरी रहेको वडामा महिला तथा किशोरीहरु महिनावरी भएको बेला गोठमा नबसी घरमा बस्न थालेका छन् । गाउँमा एउटा पनि छाउगोठ छैनन् । महिला तथा किशोरीहरुले पुर्णरुपमा गोठमा नबस्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

गाउँमा एउटा पनि छाउगोठ नभएका कारण गाउँलाई छाउगोठ मुक्तगरिएको बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले वताउनुभयो उक्त वडाका महिला तथा किशोरीहरुले सामुहिक प्रतिवद्धता गर्दै अबका दिन देखि गोठमा नबस्ने साझा प्रतिवद्धता गरेका छन् ।

महिनावरी भएको बेला सरसफाई गर्ने, पोषिला खानेकुरा खाने र प्याड प्रयोग गर्ने लगायतका उनीहरुले साझा प्रतिवद्धता गरेको वडा अध्यक्ष रावलले जानकारी दिए । साथै उक्त वडाका धामी झाक्री र पुजारीहरुले पनि आफ्नी छोरी बुहारीलाई गोठमा नबसाई घर भित्रै बसाल्ने तथा सुरक्षित ठाउमा बसाल्ने प्रतिवद्धता गरी सकेका छन् ।

बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले वडा नं ३ लाई छाउगोठमुक्त घोषणा गर्नको लागि महत्वपूर्ण योगदान पु¥याउने संस्था तथा व्यक्तीलाई धन्यवाद दिदैँ गोठमा बस्दै आएका महिलाहरु घरमा बस्न सुरुवात गर्नु परिवर्तनको संकेत भएको बताइएको छ ।