३५ विधामा ३५ जनालाई विन्दास मिडिया अवार्ड

कैलाली, २२ बैशाख । विन्दास मिडिया अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष/महिला), लोक गीत गायन (महिला/पुरुष), पप गायन (महिला/पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरेको छ । साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारिता लगायत ३५ विधामा अवार्ड वितरण गरेको छ ।

जसमा उत्कृष्ट मोडलमा जगत गरु, सुशिला कार्की, उत्कृष्ट निर्देशक सुधराम दहित, संगीतकार गणेश चौधरी, गीत लेखन सुवेश कठरिया, नव प्रतिभा कलाकार अनिल चौधरी र सोनु कुश्मी लगायत विन्दास मिडिया अवार्ड २०७५ बाट सम्मानित भएका छन् ।
अवार्ड वितरण कार्यक्रममा वन पर्यटन वातावरण तथा संस्कृति मन्त्री माया भट्टले हराउँदै गएको सबै समुदायको लोक कला, रिति संस्कृति संरक्षण सम्बर्धन तथा जर्गेना गर्न प्रदेश सरकारले आवश्यक निति तथा कार्यक्रम बनाएर ल्याउने बताईन् ।

मन्त्री भट्टले थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश नं. ७ पछी नपर्ने बताएन् । उनले प्रदेश नं. ७ मा विविध जातजाति, भाषाभाषी तथा उनीहरु बिच अनेकतामा एकता भएको बताईन् ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी थारु गीत संगीत, म्युजिक भिडियो तथा यूट्युव च्यानलले विश्वमा थारु लोक कला र थारुहरुको पहिचानलाई चिनाउन सफल भएको बताए । यसका साथै अध्यक्ष चौधरी पहिले पश्चिमा संस्कृतिमा रमाएका थारु युवाहरु अहिले आफ्नै समुदायको गीत संगीत तथा म्युजिक भिडियो निर्माण लगायत युट्यूव सञ्चालन तिर आकर्षण बढेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका प्रदेश नं. ७ संयोजक कृष्ण कुमार चौधरी, थारु कल्याण कारिणी सभा कैलाली सचिव माधव चौधरी, थारु विद्यार्थी समाजका केन्द्रिय उपाध्यक्ष ठाकुर प्रसाद करिया प्रधान, सुप कला प्रतिष्ठानका अध्यक्ष राजकुमार जोशी लगायतका सहभागिता रहको थियो ।