प्रधानमन्त्रीद्धारा कैलाली भ्रमण वर्ष २०७५ उद्घाटन हुने
धनगढी, २१ वैशाख । पर्यटकीय क्षेत्रको संरक्षण एंव प्रचार–प्रसार, कैलाली जिल्ला विकासको मूल आधार’ भन्ने मूल नाराका साथ भोलिदेखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।
आज कार्यक्रमवारे आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएका छ । उद्घाटन कार्यक्रमको अवसरमा भोलि र पर्सी गरी दुई दिन कैलालीका विभिन्न स्थानको अवलोकन भ्रमण कार्यक्रम तय भएको उनले सम्मेलनमा जानकारी दिए ।
जस अन्तरगत प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका गरी सयौं सांसदहरुलगायत विशिष्ट व्यक्तिहरुको टोलीलाई कर्णाली नदीमा ¥याप्टिङ गराउने, राजकाँडा, टीकापुर पार्क, घोडाघोडी ताल, डल्फिन प्रजनन केन्द्र, भादा होमस्टेको अवलोकन गराइने भएको छ ।
त्यस्तै, वसन्ता जैविक मार्ग, खानीडाँडा, बर्दगोरिया, त्रिवेणी धाम, गर्भा दरबार, बेहडाबाबा, रामेश्वर धाम, मोहन्याल क्षेत्रलगायत तीन दर्जन वढी पर्यटकीय, धार्मिक तथा जैविक क्षेत्रको अवलोकन दर्शन कार्यक्रम रहेको प्रमुख थापाले जानकारी दिए ।
भ्रमण वर्षको अवधीमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । कैलालीलाई प्रदेश नं. ७ को प्रवेशद्धारको रुपमा विकास गरी पर्यटकहरुलाई आकर्षण गर्ने बताइएको छ । भ्रमण वर्षभरीको लागि सवा करोड बजेट बिनियोजन भएको जिल्ला समन्वय समितिले जनाएको छ ।













