सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु

सुर्खेत, २१ बैशख । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।
कालिकोटस्थित महावै गाउँपालिका–३ का मनिषा सिंहको मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा शुक्रबार नारावाजी गर्दा तनाव उत्पन्न भएको हो ।

सुत्केरी हुन कालिकोटबाट थप उपचारका लागि कालागाउँस्थित क्षेत्रीय अस्पताल सुर्खेतमा बैशाख १६ गते नियमित चेकजाँच गर्न आएकी मनिषाको शुक्रबार विहान मृत्यु भएको थियो । आफन्तले अस्पतालमा कार्यरत डाक्टरहरुको लापरवाहीले मनिषाको मृत्यु भएको भन्दै नारावाजी गरेका छन् ।

सुत्केरी जाँच गराउँन सिंह १६ गते नै अस्पतालमा आएपनि उनलाई सुत्केरी व्यथा नलागेपछि चिकित्सकको सल्लाहमा घर फर्काइएको थियो । सुत्केरीलाई लिएर उनकी आमा कौशीला शाही बिहिबार विहान पुनः चेकजाँजका लागि क्षेत्रीय अस्पताल पुगेकी थिईन् ।

मनिषाका आमा डाक्टर र नर्सहरुको लापरवाही सुत्केरीको मृत्यू भएको आरोप लागाईन् । ‘मनिषाको कुरुवामा अर्की छोरीलाई राखेर बिहिबार राती म घर फर्किए’ कौशीलाले थपिन्,–‘शुक्रबार विहान डाक्टरहरुको लापरवाहीले छोरी र पेटमा रहेको बच्चा मृत्यु भएको खबर आयो, यो डाक्टरहरुको चरम लापरवाही नै हो ।’

मिजा भन्ने औषधी र सुईपछि छोरीलाई अप्ठेरो भएको उनको भनाई छ । शुक्रबार विहान ६ बजे नै मृत्यु भएपनि अस्पतालले साढे ८ बजे मात्रै मृत घोषित गरेको छ । आफन्तले अस्पताल परिसरमा नारावाजी गर्दै प्रशासनमा तालावन्दी गरे ।

घटनाको निष्पक्ष छानविनको माग राख्दै आफन्तले डाक्टर र नर्सलाई तत्काल कारवाहीको माग गरेका छन् ।

सुत्केरीको नाकबाट रगत समेत बगेको आफान्तको भनाई छ । डाक्टरले जवरजस्ती छातीमा चेप्दा सुत्केरीको नाकबाट रगत बगेको उनीहरुको आरोप छ ।

क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले डाक्टर र नर्सहरुको लापरवाहीले सुत्केरीको मृत्यु नभएको दावी गरे ।
खड्काले सुत्केरी वेथा लागिसकेपछि एक्कासी फ्युड इम्बोलिजम हुँदा पानी फोक्सोमा प्रवाहहुँदा सुत्केरीलाई बचाउन नसकिएको बताए ।

‘डाक्टरहरु अस्पताल परिसरमै हुन्छौं, कतै अप्रेशन गर्दा पुग्न केही ढिलाई भएको हुनसक्छ’ खड्काले भने,–‘अस्पतालमा आएका विरामीहरुलाई मार्ने हाम्रो उदेश्य हुँदैन तर मनिषाको हकमा फ्युड इम्बोलिजमहुँदा सिपिआर (मुखबाट अक्सिजन दिने र छातीमा चेप्ने) विधि अपनाइएको हो, आफन्तले थिचेर मारे भन्नु आरोप गलत हो ।’

सुत्केरीको मृत्युभएपछि घटनाको वास्तविकता बुझ्न प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही क्षेत्रीय अस्पताल कालागाउँ पुगेको प्रेस सल्लाहकार धुव्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो सयम क्षेत्रीय अस्पतालमा एकपछि अर्को घटना हुन थालेपछि सरकारको ध्यानाकर्षण भएको बताए ।