पर्यटकलाई लोभ्याउने खानीडाँडा, तराईको गर्मी छल्ने प्रकृतिक ‘एसी’

धनगढी १८ बैशाख । प्रदेश ७ को कैलाली, अत्याधिक गर्मी हुनेमध्येको तराई जिल्ला यसको परिचय हो । तर यहाँको ४० प्रतिशत पहाडी भूगोलको विशेषता सदैव ओझेलमा छ ।

त्यहि ४० प्रतिशत भूभागको केही क्षेत्र हाल लोभ लाग्दो गन्तव्य हुन सफल भएको छ । चुरे गाउँपलिकास्थित खानीडाँडा तथा आसपासको पहाडी क्षेत्र तराईको टन्टलापुर घाम र उखरमौलो गर्मी छल्ने प्रमुख गन्तव्य हुन सफल भएको हो ।

प्रदेश राजधानी धनगढीको हालको अधिकतम तापक्रम ३७ र न्यूनतम २० डिग्री सेन्टीग्रेट पुगेको छ । यो तापमान जेठसम्ममा ४६ं.४ डिग्री सेन्टीग्रेटसम्म पुग्ने जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाको तथ्यांकले देखाउँछ ।

जबकी हाल खानीडाँडामा अधिकतम तापक्रम २४, न्यूनतम १५ डिग्री रहेको रहेको फिल्ड कार्यालय प्रमुख एपी चौरसिया बताउँछन् । धनगढीदेखि ४६ किलोमिटर उत्तरी दिशामा रहेको खानीडाँडाको तापमान धनगढीको भन्दा सधै १० देखि १४ डिग्रि सेन्टीग्रेट कम रहने उनको भनाइ छ ।

यही तापमानकै कारण तराईको गर्मी छल्नेहरुको उत्तम गन्तव्य खानीडाँडा बन्न सफल भएको छ । खानीडाँडामा लामो समयदेखि साईपाल रिसोर्ट सञ्चालन गर्दै आएका होटल व्यवसायी श्याम महराले फरक मौसमी विविधता नै खानीडाँडाको प्रमुख विशेषता रहेको बताए । उनको अनुसार यस क्षेत्रमा बैशाख जेठमा पनि कुहिरो लागेको देखेर धेरै अगन्तुक भुलभूलैयामा पर्ने गरेका छन् ।

‘घरको कोठामा नत पंखा जडान गरिएको हुन्छ, नत वातावरण अनुकुलित (एसी) लगाइएको छ । यतिमात्रै होइन, राति न्यानो कपडा नओढेर कसैलाई सुःखै हुँदैन’, उनले भने ।

खानीडाँडा समुन्द्री सतहबाट दुई सय ३० मिटर उचाईमा अवस्थित छ । जहाँ उष्ण मौसमी हावापानी रहेको पाइन्छ, भने वर्षमा एक सय २५ मिलिलिटरसम्म पानी पर्दछ ।

वरिपरी हरियो डाँडाकाँडा, क्षणभरमै घाम लाग्ने, पानी पर्ने, झमक्क हुस्सु लाग्ने जस्तो मौसमी लुकामारीले पर्यटकहरुलाई सहजै लोभ्याउँछ । होटल व्यवसायी महराका अनुसार आन्तरिक मात्रै नभई भारतको उत्तरप्रदेशबाट समेत दैनिक सयौंको संख्यामा परिवार सहित गर्मी छल्ने पर्यटकहरु खानीडाँडा पुग्ने गरेका छन् ।

पछिल्लो समय भारतको दिल्ली लगायतको स्थानबाट समेत गर्मी छल्न खानीडाँडामा पर्यटकहरु आउने गरेको पनि महराको भनाई छ ।

कैलाली, कञ्चनपुर र भारतबाट समेत पर्यटकहरु आउन थालेपछि खानीडाँडामा सुविधा सम्पन्न रिसोर्ट समेत खुल्न थालेका छन् । अद्भुत मौसमको खानी रहेको खानीडाँडाको प्रचारप्रसार गर्न सके पर्यटकहरुको ओइरो लाग्ने व्यवसायीहरुको भनाई छ ।

‘सम्भावना धेरै छ तर प्रचार प्रसारको कमी छ’, महराले भने–‘तराईबासीहरुको लागि गर्मी छल्न उत्तम ठाउँ नै खानीडाँडा हो ।’