सडक अतिक्रमण गरि बनाइएको ५० घर डोजर लगाएर हटाइयो
धनगढी, १५ बैशाख । अत्तरिया–मोहोना ६ लेनको सडक क्षेत्रका अतिक्रमण गरिएर बनाइएको संरचना भत्काउन शुरु भएको छ ।
सडकमा परेका घरहरु भत्काउन लामो समय देखि घरधनीलाई सूचना दिएपनि अटेर गरेपछी धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले डोजर लगाएर घर भत्काउन शुरु गरेका छन् ।
सूचना जारी गरेको डेढ बर्षसम्म पनि सडक क्षेत्र खाली नगरीएपछि डोजर लगाएर सडक क्षेत्र खाली गर्न सुरु गरिएको नगरप्रमुख नृप वडले बताए ।
मेयर वडले सडक क्षेत्र खाली नगर्दा योजनाको काम प्रभावित भएपछि बाध्य भएर डोजर लगाउनु परेको बताए ।
‘अदालतले स्टेअर्डर जारी गरेको ४ महिना भन्दा बढी समय वित्दा पनि घर धनीले खाली गर्न मानेन’, उनले भने, ‘त्यसपछि उपमहानगरपालिकाले डोजर लगाएको हो ।’
सडक खाली गर्न मेयर वड सहित उपमहानगरपालिकाको टोली आफै खटिएको छ । ३ दिन यता झण्डै ५० घरमा डोजर लगाईएको मेयरको भनाई छ ।
स्थानीय १४ जना घर धनीले सर्वोच्चमा मुद्दा हालेपछि काम प्रभावित भएको थियो । सडक क्षेत्रभित्र पर्ने करिब डेढ सय घरमध्ये धेरै घरधनीले आफैले घर भत्काईसकेको तर केही घरधनीले सडक क्षेत्र खाली गर्न अटेर गरेको योजना प्रमुख मनिष शाहले बताए ।
उनले भने, ‘सडक क्षेत्र खाली गर्न नसक्दा विद्युत र टेलिफोनका पोल सार्न सकिएको, पोल सारेर सडकको पुरै क्षेत्र खाली नहुँदा नसक्दा आयोजनाको कामले गति लिन सकेको छैन ।’
दुई वर्षे भित्र निर्माण गरिसक्ने गरि गत जेठमा निर्माण सम्झौता भएको आयोजनाको कामले गति लिन सकेको छैन । हालसम्म १० देखि १२ प्रतिशत काम मात्रै भएको छ ।
१ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको योजना ३ खण्डमा छुट्याएर काम भईरहेको छ । धनगढीको भन्सार रोड स्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव २ किलोमिटर लम्बाई रहेको ६ लेन सडक अन्तरगत मुख्य सडकको चौडाई रहने ३२ दशमलव २ मिटर रहने छ ।
२ वर्ष भित्रै कुल १४ किलोमिटरमध्ये १० किलोमिटर ६ लेन तथा ४ किलोमिटर ४ लेन सडक निर्माणका लागि आयोजनाले ३ ओटा कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । सम्झौता पश्चात् निर्माण सुस्तगतिमा अघि बढ्दा घोषित मितिमै निर्माण सम्पन्न नहुने देखिएको छ ।













