थारु समुदायमा देखापर्ने सिकलसेल एनिमियाको अनुसन्धान शुरु
कैलाली, ११ बैशाख । सिकलसेल एनिमिया रोगको समस्या बढ्दै गएपछि सरकारले प्रभावित क्षेत्रमा रगत परीक्षण सुरु गरेको छ ।
वारबर्दिया नगरपालिकाको थारु समुदायमा २० हजार राना थारुको रगत परीक्षण गरिएको हो । सन् १९५६ मा नवलपरासीमा पहिलो पटक देखिएको सिकलसेल एनिमिया रोग हाल थारु समुदायमा बढी देखिएको छ ।
राना थारुमा बढी देखिएको सरकारी तथ्यांक रहेको छ । स्वास्थ्य मन्त्रालयको डेढ करोड रुपैयाँको सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सिकलसेल एनिमियाबाट प्रभावित व्यक्तिका बारेमा अनुसन्धान सुरु गरेको हो ।
जसमा बर्दियाको वारबर्दिया नगरपालिकामा बस्दै आएका २० हजार राना थारु समुदाय समेटिएका छन् । १ वर्षदेखि २९ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षण गरिएको छ । जन्मजात रोग भएकाले १ वर्ष उमेर समूहकै बालबालिकादेखि अनुसन्धान सुरु गरिएको अनुन्धान परिषदले जनाएको छ ।
संकलन गरिएको रगतलाई वीर अस्पतालमा ल्याएर परीक्षण गरिने छ । रगत परीक्षणको काम आगामी असारसम्म सक्ने लक्ष्य राखिएको छ । सिकलसेल एनिमियाका बिरामीको संख्या र उपचारको विधि पत्ता लगाउने उद्देश्यले अनुसन्धान शुरु गरिएको हो ।
वंशाणुगत रोगका कारण हैरान भएका थारु समुदायका व्यक्ति सरकारी अनुसन्धानप्रति निकै उत्साहित देखिएका छन् । अनुसन्धानको नतिजा सार्वजनिक भएपछि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ ।
शरीरमा रातो रक्त कोषको कमी हुने रोगले हाड जोर्नी दुख्ने, शरीर पहेँलो हुँदै जाने गर्दछ । बिरामीलाई पटकपटक रगत दिएर बचाउनुपर्ने बाध्यता छ । यसको पूर्ण उपचार विधि अहिलेसम्म नभएको चिकित्सकहरु बताउछन् ।
यो रोगका विरामीलाई सरकारले १ लाख रुपैयाँसम्मको सहयोग गर्दै आएको छ । वंशाणुगत समस्याका कारण बढ्दै गएको यो रोग नियन्त्रणको विधि पत्ता लगाउनुका साथै तत्कालका लागि जनचेना फैलाउनु आवश्यक रहको छ ।













