स्थानीय तहमा सहभागितामूलक योजना तर्जुमा सम्बन्धि तालिम
हसुलिया, १० बैशाख । कैलारी गाँउपालिका वडा नं. १ हसुलियामा स्थानीय तहमा सहभागितामूलक योजना तर्जुमा सम्बन्धि तीन दिने तालिम शुरु भएको छ ।
दलित महिला अधिकार मञ्च नेपालले सोमबारदेखि कैलारी गापाको ९ वटै वडाका ३३ जना महिलाहरुलाई सो तालिम दिन थालिएको हो ।
तालिमको उद्घाटन गर्दै गापाका अध्यक्ष लाजु चौधरीले स्थानीय स्तरमा हुने योजना तर्जुमा भेलाहरुमा दलित, महिला, पछाडी पारिएको वर्ग समुदायलाई सक्रिय सहभागिताको लागि वडा अध्यक्षलाई नै निर्देश दिने बताए ।
उनले गापाले गर्ने कार्यक्रम दलित महिला अधिकार मञ्चले नै आयोजना गरिदिएकोमा धन्यबाद दिदै यो कार्यक्रमले बस्ती भेला, वडा भेलामा आफूहरुलई सहज हुने बताए ।
उनले कैलारी गापाका जनप्रतिनीधिहरुलाई जनतासंगको सहकार्य र समन्वयनको भूमिकामा चुक्न नदिन आफू सहजीकरण गरिरहेको बताए ।
तालिमबाटै दलित महिला अधिकार मञ्चले गापाका ९ वटै वडा समेतिने गरि समुह गठन गरि महिलाहरुलाई स्थानीय तहमा उपलब्ध सेवा सुविधको बारेमा जानकार बनाउने संयोजक रोशा थापाले जानकारी दिईन् । उनले समुहमा आबद्ध भएका महिलाहरुलाई गापाले योजना तर्जुमा गर्ने क्रममा अनिवार्य सहभागि गराउनु पर्ने बताए ।
समुदायका महिलाहरुलाई आफ्नो योजनाहरु लिखितरुपमै तयार गरि पेश गर्न सक्षम बनाउने तालिमको उद्देश्य रहेको थापाले जानकारी दिईन् । साथै तालिममा स्थानीय जनप्रतिनीधिहरुको काम, कर्तव्य र अधिकारका बारे पनि जानकारी दिने बताईन् ।
तालिममा दलित महिला अधिकार मञ्च नेपालका सिनियर सुपरभाईजर भरत कोली, सामाजिक परिचालक जनक भूल, दानबहादुर विक लगायतले तालिमलाई सहजीकरण गरिरहेका छन ।













